सल्यान, साउन २२ गते । कर्णाली प्रदेशको सल्यान जिल्ला टिमुर उत्पादनका लागि परिचित मानिन्छ । यहाँ उत्पादन हुने टिमुर बिक्रि बाट किसानहरुले वार्षिक करोडौं रुपियाँ आम्दानी गर्नेगरेका छन् । माग र मूल्य दुवै राम्रो भए पनि गुणस्तर, मूल्य निर्धारण र बजार व्यवस्थापनमा एकरूपता नहुँदा किसानले अपेक्षित लाभ लिन नसकेको गुनासो रहँदै आएको छ । यही अवस्थालाई सुधार गर्ने उद्देश्यले सल्यानमा अर्गानिक टिमुर उत्पादन तथा एकद्वार बजार व्यवस्थापन अभियान सुरु गरिएको छ ।
छत्रेश्वरी गाउँपालिका वडा २ मा अपिष्टा नेपाल संस्थाको आयोजना तथा वडा कार्यालयको सहजीकरणमा अर्गानिक टिमुर उत्पादन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो । शुक्रबार आयोजित कार्यक्रममा स्थानीय टिमुर उत्पादक किसानहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
कार्यक्रममा किसानलाई अर्गानिक विधिबाट टिमुर उत्पादन गर्ने तरिका, गुणस्तर व्यवस्थापन, सङ्कलन प्रक्रिया तथा बजार व्यवस्थापनका विषयमा जानकारी गराइएको थियो । साथै उत्पादनदेखि बिक्रीसम्म एउटै मापदण्ड अपनाएर बजारमा प्रतिस्पर्धी र विश्वासिलो उत्पादन पुर्याउने विषयमा समेत छलफल गरिएको वडा अध्यक्ष प्रेम बहादुर नेपालीले जानकारी दिनुभयो ।
सल्यानमा टिमुर उत्पादनको ठूलो सम्भावना रहे पनि किसानले अझै यसको पूर्ण लाभ लिन नसकेको भन्दै उहाँले अब किसानले उत्पादन गरेको टिमुरलाई एकद्वार प्रणाली मार्फत सङ्कलन गरी समान मापदण्ड र समान मूल्यमा बिक्री गर्ने वातावरण निर्माण गर्ने लक्ष्य लिइएको बताउनुभयो ।
सल्यानमा विशेषगरी छत्रेश्वरी, कुमाख, त्रिवेणी, सिद्धकुमाख, बागचौर तथा वनगाड कुपिण्डे नगरपालिका क्षेत्रमा प्राकृतिक रूपमा टिमुर पाइने र पछिल्ला वर्षहरूमा व्यावसायिक खेतीसमेत विस्तार हुँदै गएको छ । मसला, आयुर्वेदिक औषधि तथा सुगन्धित सामग्रीका रूपमा प्रयोग हुने भएकाले यसको बजार माग निरन्तर बढिरहेको छ ।
कृषि तथा वन क्षेत्रका जानकारहरूका अनुसार अर्गानिक उत्पादनको प्रमाणिकरण, गुणस्तरीय संकलन र व्यवस्थित बजारीकरण गर्न सके सल्यानको टिमुरले राष्ट्रिय बजारसँगै निर्यात बजारमा समेत थप मूल्य प्राप्त गर्न सक्ने सम्भावना छ । तर अहिले पनि अधिकांश किसानले व्यक्तिगत रूपमा व्यापारीलाई बिक्री गर्ने भएकाले मूल्यमा एकरूपता छैन ।
अभिमुखीकरण कार्यक्रममार्फत किसानलाई उत्पादनदेखि बिक्रीसम्म एउटै मापदण्ड अपनाउन प्रेरित गरिएको वडा कार्यालयले जनाएको छ । यसबाट उत्पादित टिमुरको गुणस्तर कायम हुनुका साथै किसानले सुनिश्चित बजार र उचित मूल्य पाउने अपेक्षा गरिएको छ ।
वडा कार्यालयले अर्गानिक उत्पादन, सुनिश्चित बजार र समृद्ध कृषक भन्ने अवधारणालाई आत्मसात गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने जनाएको छ । यदि एकद्वार प्रणाली प्रभावकारी रूपमा कार्यान्वयन हुन सके सल्यानको टिमुर व्यवसाय अझ व्यवस्थित बन्नुका साथै वार्षिक करोडौं रुपैयाँको कारोबार गर्ने यो बालीबाट किसानको आम्दानी समेत उल्लेखनीय रूपमा बढ्ने अपेक्षा गरिएको छ ।
कमेन्ट गर्नुहोस्