काठमाडौँ, भदौ 8 गते । ढुकुरको गुँड लिसिङपिसिङ, जुरेलीको मानो
हामी सानो तोप चराको, तीन तलाको छानो
भँगेरोको गुँडको व्यथा भने त्यै मान्छेले जान्यो ।
यो लोकोक्तिले अथ्र्याए जस्तैै नजिकका मित्र हुन् मानिस र भँगेरा । तर, हिजोआज घरआँगनमा भँगेरा कमै देखिने गर्छन् । मानिससँग रत्तिएरै बाँच्ने भँगेरा मानिसकै कारण कम हुँदै गएको वरिष्ठ चराविद् डा. हेमसागर बराल बताउनुहुन्छ ।
उहाँका अनुसार रुख भँगेरा र घर भँगेरामध्ये घर भँगेरा पछिल्लो समय कम हुने व्रmममा छन् । घर आसपासमा हुने रुखहरू काटिँदै जाँदा रुख भँगेरा मानिसबाट टाढा हुँदै गएको अनुमान डा. बरालको छ । आधुनिक घरमा गुँड बनाउने ठाउँ नपाएर घर भँगेराका लागि वासस्थानकै चुनौती छ । भँगेरा संरक्षण अभियानमा जुट्नुभएका कीर्तिपुर टुसालका ७२ वर्षीय संरक्षणकर्मी धु्रव बस्नेतका अनुसार पनि भँगेरा मानिसको मित्र चरा हो । भँगेरा बाजे उपनामले चर्चित उहाँका अनुसार कङ्व्रिmटको सहर बन्दै गएको काठमाडौँ उपत्यकामा भँगेरासँगै गौँथली, धोबी र सारौँ चरा अचेल निकै कम भेटिन्छन् । बस्नेत भन्नुहुन्छ, “अझ भँगेरा त आफ्नो घर अर्थात् गुँड बनाउनै नजान्ने भएकाले सहरबाट लोप हुने अवस्थामा पुगेका हुन् ।”
मानिसको बस्तीवरिपरि बस्न रुचाउने एक सानो, फुर्तिलो र सामाजिक चरा भँगेरा बचाउनु पर्छ भन्ने ज्ञान २०४५ सालतिर घर बनाउने भोसिन्चा गोपालीबाट आफूले लिएको बस्नेतले बताउनुभयो ।
‘ए बाजे चखुँ प्वाँ राख्नु पर्छ सबै टाल्नु हुँदैन’ भनेको उहाँलाई अझै सम्झना छ । नेवारी भाषामा ‘चखुँ’ भनेको भँगेरा र ‘प्वाँ’ भनेको प्वाल अर्थात् भँगेराका लागि घरमा गुँड होे । उतिबेला नेपाली समाजमा घरमा आफू मात्र हैन पन्छीहरू बस्यो भने ‘लक्षिण लाग्छ’ भन्ने नेपाली संस्कार थियो ।
२०७२ सालको भुइँचालोले उहाँको पुरानो घर भत्कियो । नयाँ घरमा पनि उहाँले भँगेरालाई गुँड राखिदिनुभएको छ । उहाँकोमा ६७ वटा गुँड रहेको छ । टोलछिमेकका सबैलाई भँगेराको गुँड घरमा राख्ने अभियान अन्तर्गत १६० वटा घरमा गुँड विस्तार गर्नुभएको छ । उहाँ आग्रह गर्नुहुन्छ, “भाले भँगेरो जता बसे भो, भँगेरीलाई गुँड भएन भने बच्चा कोरल्दिन र वंश हराउँछ, त्यसैले पनि आफ्ना घरमा गुँड राखिदिनु है ।”
कीर्तिपुर मात्र हैन चन्द्रागिरि नगरपालिका, काठमाडौँ महानगरपालिकालगायतका स्थानमा बस्नेतकै सुझाव मानेर नयाँ घरमा खट्प्वाल राख्ने र पुराना घरमा बाकसमा भँगेराको गुँड बनाइदिन थालेका छन् । उहाँको २०७९ सालमा प्रकाशित भँगेरा संरक्षणसम्बन्धी पुस्तकको तथ्य अनुसार सबैभन्दा बढी चन्द्रागिरि–९ की सविना रञ्जितले आफ्नो घरमा ९१ वटा भँगेराको गुँड राख्नुभएको छ । शताब्दीपुरुष सत्यमोहन जोशीले उहाँको अभियानबाट प्रभावित भएर घरमा गुँडसँगै कवितासमेत कोरिदिनुभएको छ ।
चराविद्का अनुसार भँगेराले पर्यावरण र कृषिप्रणालीलाई सन्तुलनमा राख्न महìवपूर्ण भूमिका खेल्छ । झुसिल्किरो, फट्याङ्ग्रा, लाभ्रेलगायतका हानिकारक किरा खाइदिन्छ । विशेष गरी बच्चा हुर्काउने समयमा भँगेराले दैनिक सयौँको सङ्ख्यामा हानिकारक किरा बच्चालाई खुवाउँछ र त्यसबाट घरवरिपरिका तरकारी खेतीमा रासायनिक विषादी प्रयोग गर्नुपर्ने आवश्यकता कम हुन्छ । खेतबारी र गोदामवरपर झरेका अन्नका दाना र झारपातका बियाँ खाएर सफा राख्न पनि सहयोग गर्छ ।
बराल थप्नुहुन्छ, “भँगेरा युगौँदेखि मानिसको साथी हो र घरपरिवारको नजिकै रमाउँछ ।” घरवरपर उड्ने लामखुट्टे, औँसा र अन्य रोग फैलाउने साना किरा खाएर यसले मानव स्वास्थ्यको रक्षा गर्न अप्रत्यक्ष रूपमा सहयोग गरिरहेको हुन्छ । घरपालुवा जनावर जत्तिकै मानिसको नजिक रहने हुँदा यसको चिरबिर आवाजले वरपरको वातावरणलाई जीवन्त र तनावमुक्त बनाउँछ ।
भँगेरा बचाउने चेतना भने बढ्दै गएको छ । नयाँ पुनर्निर्माण भएको राजधानी काठमाडौँको भद्रकाली मन्दिरमा पनि भँगेराको गुँड राखिएको बस्नेतको भनाइ छ । गुठी संस्थानका घर, त्रिभुवन विश्वविद्यालयका घरमा समेत भँगेराको घर ब्युँताउन सहयोग गरेको उहाँको भनाइ छ । सामाजिक सद्भाव तथा राष्ट्रिय एकता अभियान नेपाल नामक संस्थाबाट हरेक वर्ष चैत १ गते भँगेरा दिवस मनाइन्छ । बढी गुँड बनाउनेलाई सम्मानित र पुरस्कृत गर्न थालिएको बस्नेतले जानकारी दिनुभयो ।
कमेन्ट गर्नुहोस्