पश्चिम नवलपरासी, भदौ ९ गते । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका –५ स्थित नारायणी नदीपारीको ऐतिहासिक भूमि सुस्तामा नदीले निरन्तर कटान गरिरहेको छ । नारायणी नदीको वेगले यस वर्ष दिशा परिवर्तन गर्दै स्थायी तटबन्ध निर्माण हुन नसकेको क्षेत्रबाट नेपाली भूमि कटान गरिरहेको हो ।
भारतीय अवरोधका कारण ठेक्का सम्झौता भएर पनि निर्माण हुन नसकेको स्थानबाटै नदीले कटान गरिरहेको स्थानीयले बताएका छन् । नदीको कटान रोक्न अहिले अस्थायी रूपमा बोरामा माटो भरेर तटबन्ध निर्माण गर्नुका साथै ‘प्रकुपाइन’ (बाढिको बेग नियन्त्रण गर्ने त्रिभूज आकारको सिमेन्टको संरचना) राखेर नदीको वेग नियन्त्रण गर्ने प्रयास भइरहेको छ ।
साउन महिनामा बस्तीमा भेल पसेपछि कटान रोक्न स्थानीय बासिन्दाले एक साताभन्दा बढी समय दिनरात नदी किनारमा श्रमदान गरेका थिए । निरन्तरको श्रमदानबाट स्थानीय समेत थाकिसकेका छन् । अहिले सङ्घीय सरकार मातहतको सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना, चितवनले दैनिक ज्यालादारीमा कामदार परिचालन गरी अस्थायी संरचना निर्माण गरिरहेको छ । सुस्तामा नेपाल–भारतबिच लामो समयदेखि सीमा विवाद छ ।
भारतले सीमाना दाबी गर्दैआएको ‘भेल्लोरको रुख’ समेत दुई हप्ता अगाडि नारायणी नदीको भेलले बगाइसकेको छ । सोही भेल्लोरको रुख नजिकसम्म १३२ मिटर लामो तटबन्ध निर्माण गर्ने योजना रहे पनि भारतको अवरोधका कारण काम अघि बढ्न सकेको थिएन ।
गत वर्ष नदीले कटान गरेको क्षेत्रमा सङ्घीय सरकारले ११ करोड बढीको लागतमा एक किलोमिटर लामो तटबन्ध निर्माण गरेको थियो । सो क्षेत्रमा अहिले नदी कटानको जोखिम देखिएको छैन । तर यस वर्ष नारायणी नदीको बहावको दिशा परिवर्तन भएर तटबन्ध नभएको क्षेत्रतर्फ सोझिएपछि सुस्ता उच्च जोखिममा परेको हो । सुस्ता बचाउ अभियानको आदम हुसेन खाँ नदीले सुस्तावासीले लगाएको उखुबाली समेत कटान गर्न थालेपछि आफूहरू आत्तिएको बताउनुहुन्छ । “घाम लागे केही राहत हुन्छ, पानी पर्न थालेपछि मन आत्तिन्छ” उहाँले भन्नुभयो ।
सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना, चितवनका प्रमुख डा. नारायण सुवेदीका अनुसार अहिले सुस्तामा करिब एक करोड रुपियाँको लागतमा अस्थायी तटबन्ध तथा प्रकुपाइन निर्माण गरी नदीको बहाव नियन्त्रण गर्ने काम भइरहेको छ । “हामी दैनिक रूपमा यहाँ खटिएका छौँ, सुस्ता भूमि बचाउने प्रयासमा अहिले विभिन्न तरिका अपनाएर बाढीको वेग नियन्त्रण गर्ने र सुस्तातर्फ बाढी छिर्न नदिन अस्थायी रूपमा भए पनि बलियो संरचना बनाउने काम भइरहेको छ” उहाँले भन्नुभयो ।
नदीसम्बन्धी विषयमा विद्यावारिधि गर्नुभएका सुवेदीले नारायणी नदीले समय–समयमा आफ्नो बहावको दिशा परिवर्तन गर्ने भएकाले सुस्तामा चुनौती सिर्जना भएको बताउनुभयो । उहाँका अनुसार बाँकी तटबन्ध निर्माण गर्न पाएको भए सुस्ताको जोखिम धेरै हदसम्म कम गर्न सकिन्थ्यो ।
कमेन्ट गर्नुहोस्