काठमाडौँ, भदौ ९ गते । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा दैनिक रुपमा हजारौंको सङ्ख्यामा अवलोकनकर्ताले जीवजन्तु अवलोकन गर्ने गर्दछन् । सदर चिडियाखानाका प्रवक्ता गणेश कोइरालाका अनुसार एक हजारदेखि १२ सय आगन्तुक दैनिक भ्रमणमा आउने गरेका छन् भने सार्वजनिक बिदाका दिनमा यो सङ्ख्या चारदेखि पाँच हजारसम्म पुग्ने गरेको छ ।
उहाँका अनुसार एक वर्षमा झण्डै दश लाख आगन्तुक चिडियाखाना भ्रमणका लागि आउने गरेको तथ्याङ्क छ । हाल चिडियाखानामा एकसय प्रजातिका जम्मा १२ सय जीवजन्तु छन् ।
उहाँले चिडियाखानामा ठुला जीवजन्तुका लागि ठाउँ अभावको समस्या लामो समयदेखि कायम रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “कतिपय जीवजन्तुका लागि व्यवस्थापन त भएको छ तर वास्तवमा आवश्यकताको हिसाबमा हेर्दा कतिपय ठुल–ठुला जनावरको लागि चाहिँ यो भन्दा अलि ठुलो स्थान दिन पाएदेखि राम्रो हुन्थ्यो भन्ने अवस्था हो । यसकारण अलिकति ठुलो स्थानमा खुला चिडियाखाना बनाउने योजना पनि विगतदेखि उठ्दै आएको छ ।”
वि.सं. १९८९ मा तत्कालीन प्रधानमन्त्री जुद्ध शमशेरद्वारा सो चिडियाखानाको स्थापना गरिएको हो । २००७ सालको राजनीतिक परिवर्तनपछि नेपाल सरकारको स्वामित्वमा गएको सदर चिडियाखाना २०११ सालदेखि सर्वसाधारणका लागि खुला गरियो ।
२०५२ सालदेखि सदर चिडियाखाना व्यवस्थापनको जिम्मेवारी राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) लाई दिइएको छ । सो चिडियाखाना भक्तपुरको सूर्य विनायकमा स्थानान्तरण गर्ने गुरुयोजना विगत वर्षौदेखि उठ्दै आएको पनि छ । यद्दपि, यसको पूर्ण जिम्मेवारी भने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागलाई रहेको उहाँ बताउनुहुन्छ ।
पछिल्लो समय, काठमाडौँ उपत्यकामा बर्डफ्लु सङ्क्रमण फैलिएसँगै २०८३ असार ५ गतेदेखि चिडियाखाना एक महिना बन्द गरिएको थियो । हाल भने सामान्य अवस्थामा सुचारु भइरहेको छ ।
उहाँले भन्नुभयो, “काठमाडौँ उपत्यकाको धेरै ठाउँका कागहरु, चराहरुमा सङ्क्रमण देखिएको र जवलाखेलको चिडियाखाना भएको क्षेत्र पनि कागहरु व्यापक भएको क्षेत्र भएकोले हाम्रो जीवजन्तुमा बर्डफ्लु सङ्क्रमण पनि देखियो । झण्डै हामीले एक महिना नै बन्द गर्नुपर्ने अवस्था आयो । २०८३ असार ५ मा बन्द भयो । झण्डै एक महिना बन्द भयो । साउन १ गतेदेखि सुचारु भयो । अहिले अवस्था सामान्य छ ।” सदर चिडियाखानाको कुल क्षेत्रफल ६ हेक्टर रहेको छ ।
कमेन्ट गर्नुहोस्