दिवङ्गतको सम्झनामा गाईलाई अथवा परिवारका सदस्यलाई गाईका रूपमा सिँगारेर नगर परिक्रमा गराई देशभर गाईजात्रा पर्व मनाइएको छ । यसरी नगर परिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास संस्कृतिविद् डा. चुन्दा वज्राचार्यले जानकारी दिनुभयो । उहाँले आमाको निधन भएको छ भने दुध दान दिनु पर्छ भने बुवाको निधन भएको छ भने रोटी तथा केराउ दान दिनुपर्ने बताउनुभयो ।
गाईजात्रा विभिन्न स्थानमा आआफ्नै परम्परा अनुसार मनाइएको छ । प्रत्येक वर्ष श्रावण शुक्ल प्रतिपदाका दिन मनाइने यस पर्वलाई नेपाल भाषामा ‘सापारु’ भनिन्छ । डा. वज्राचार्यका अनुसार प्रताप मल्लको पालादेखि प्रचलनमा आएको गाईजात्रा हनुमानढोकास्थित राजप्रसाद (राजदरबार) भएर जानुपर्ने प्रथा अहिलेसम्म पनि जारी छ । देशका विभिन्न सहरमा गाईजात्रा मनाइने भए पनि उपत्यकामा यसको विशेष रौनक देखिने गरेको छ ।
भक्तपुरमा सापारुको रौनक
भक्तपुरमा बिस्का जात्रापछिको यसलाई दोस्रो ठुलो जात्राका रूपमा लिइन्छ । भक्तपुरमा यो जात्रा लगातार आठ रात नौ दिनसम्म मनाइन्छ । हरेक वर्ष जनैपूर्णिमा (गुन्ही पुन्ही) मा सुरु हुने यो जात्रा कृष्ण जन्माष्टमीका दिनसम्म मनाइन्छ ।
यस जिल्लामा गाईजात्रा अजिमाको ताहमचाबाट सुरु हुन्छ र परालको भैल द्योसँगै समाप्त हुन्छ । सामान्यतया ताहामचालाई दिवङ्गतको तस्बिरले सजाइन्छ । अग्लो चार वटा बाँसलाई कपडाले बेरिएको, परालको सिङ र शिरमा छाता ताहमचाका आधारभूत विशेषता हो ।
भक्तपुर महाकाली नाचका मूल नाइके तुल्सी दण्दख्वाले भन्नुभयो, “ताहमचालाई चार व्यक्तिले बोक्ने गर्छन् । त्यसका पछि पछि मृतक परिवारका आफन्त प्रदक्षिणामार्गमा पदयात्रा गर्दै घुम्ने चलन छ । धेरैले ताहामचासँगै घिन्टाङघिसी पनि लाने गर्छन् ।” ताहमचा अगाडि नेवारी परम्परागत सङ्गीत, भजन, सांस्कृतिक नृत्य, माक प्याखँ (बाँदर नृत्य), घिन्टाङ घिसी (सांस्कृतिक लाठी नृत्य) प्रदर्शन गरिन्छ । अन्तत समाजका ताहमचा भल द्यो (भगवान् शिवको अवतार) बाट निर्देशित हुन्छ । जुन परालले बनाइएको हुन्छ । अजिमा भद्रकाली (हिन्दु देवी) द्वारा त्यसलाई पछ्याइएको हुन्छ । धिमे, धा बाजा, लाला खींकोे एउटै तालमा हजारौँ युवा नाच्छन् । नगरभरि घुम्दै भक्तपुरका मुख्य तीन चोक दरबार स्क्वायर, टौमढी स्क्वायर र दत्तात्रय स्क्वायरमा विशेष प्रदर्शन गरिन्छ । गाईजात्राको दिन नगर परिक्रमा गर्ने रुटका ठाउँ ठाउँमा यी नाच, नाटक, प्रहसन नौ दिन लगाएर प्रदर्शन गरिन्छ । हिन्दु धर्मग्रन्थ पद्मपुराणमा उल्लेख भए अनुसार यमलोकको मुख्य ढोका वर्षभरि बन्द रहने र मत्र्यलोक अर्थात् पृथ्वीलोकमा गाईजात्रा निकालिएपछि यमलोकको ढोका खुल्ने र मृतात्माले यमलोक प्रवेश पाई मुक्ति पाउने उल्लेख गरिएको किंवन्दती रहेको छ । दण्दख्वाले गाईले मृतात्मालाई स्वर्गसम्म लैजान मद्दत गर्छ भन्ने विश्वास रहेको बताउनुभयो ।
गाईजात्राको सुरुवात
गाईजात्रासँगै राजा प्रताप मल्लको नाम आउँछ । उनी तत्कालीन कान्तिपुर, अहिले काठमाडौँका शासक थिए । गाईजात्रालाई उपत्यकामा पहिलो पटक परिचय गराउने मल्ल नै थिए । भनिन्छ, सो जात्रा उनका रानीको दुःख कम गर्नका लागि थियो । छोरा चक्रवर्तेन्द्रको निधनपछि रानी गहिरो शोकमा डुबिन् । उनलाई संसारमा छोरा गुमाउने पीडा तिमीलाई माात्र परेको होइन, मृत्यु त सबैको घरमा हुन्छन् भन्ने यथार्थबोध गराउन राजाले सो वर्ष आफन्त गुमाएका सबै परिवारलाई गाई ल्याउन र त्यस क्रममा मनोरञ्जन गर्न आदेश दिए । राजाको आदेश अनुसार ती परिवारले विभिन्न प्रहसन, अनौठो वेशभूषासहित गाईजात्रा निकालेर सहर परिक्रमा गरे । जसलाई देखेपछि रानीको मन शान्त भयो । त्यही बेलादेखि गाईजात्रा सुरु भएको मानिन्छ ।
गाईजात्रा काठमाडौँ उपत्यकालगायत बनेपा, धुलिखेल, पनौती, बाह्रबिसे, त्रिशूली, दोलखा, खोटाङ, भोजपुर, चैनपुर, इलाम, तानसेन, धरान, विराटनगर, वीरगन्ज, हेटौँडा र पोखरालगायत नेवार समुदायका मानिसको विशेष उपस्थिति रहेको सहरमा धुमधामसाथ मनाइन्छ ।
कमेन्ट गर्नुहोस्