काठमाडौँ, भदौ १९ गते । बाढी प्रभावित क्षेत्रका बालबालिकालाई स्थानीय तहले अभिलेख राखेर बाल संरक्षणका लागि सरोकारवाला संस्थासँग समन्वय गरी तत्काल उद्धार गर्नुपर्नेमा जोड दिइएको छ ।
राष्ट्रिय कार्य समन्वय समितिका अध्यक्ष ऋतु भट्टराईले भन्नुभयो,“ बाढी पहिरोलगायतका विपदबाट प्रभावित धेरै बालबालिकाले अभिभावक गुमाएका, अभिभावकसँगबाट छुटेका, घरबारविहीन भएका छन् । विभिन्न सञ्चार माध्यम, सामाजिक सञ्जालले बाल अधिकार हनन हुने गरी होडबाजी गर्दै उनीहरुको गोपनियताको समेत ख्याल नराखी प्रचार गरिरहेका पनि छन् भने यस्तो जोखिमपूर्ण अवस्थामा सरोकारवाला निकाय मिलेर बाल संरक्षणमा ध्यान दिन ढिला भइसकेको छ ।”
अध्यक्ष ऋतुले यस कार्यको लागि राष्ट्रिय बाल अधिकार परिषदले समन्वय गरे राष्ट्रिय कार्य समन्वय समितिमा आवद्ध सबै बालबालिकासँग सम्वन्धीत संस्थाले जिम्मेवारीपूर्वक काम गर्न तयार रहेको जानकारी दिनुभयो । एसओएस बालग्राम जोरपाटीका पूर्व प्रमुख रविन नेपालीले विपदमा सबैभन्दा बढी जोखिममा बालबालिका पर्दछन्, राजधानीमा अस्थायी र स्थायी बाल संरक्षणका थुप्रै संरचना छन्, प्रभावित बालबालिकाको सम्वन्धीत स्थानीय निकायले स्पष्ट तथ्याङ्क तयार गरी तत्कालका लागि अस्थायी बाल संरक्षण निकायमा ल्याउनुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो,“विपद व्यवस्थापनका विशेष कार्य खोजतलास, उद्धारका काम सकिएपछि बालबालिकाको अभिभावक भेटिएको र उहाँहरुले बालबालिकाको शिक्षा-दीक्षालगायत पालन पोषण गर्न सक्षम भएको अवस्थामा परिवार भेटिए परिवारमै पुनः स्थापना गर्न सकिन्छ भने अभिभावक नभेटिएको अवस्थामा त्यस्ता बालबालिकाको राज्यले दीर्घकालिन संरक्षणमा राख्नुपर्छ ।”
बाल अधिकार अभियन्ता एवं एजुकेशन वाचका संस्थापक नरेन्द्र डंगोलले यस विपत्तीमा प्रभावित धेरै स्थानका स्कुलसमेत बाढीले बगाएको स्थिति छ भन्दै एजुकेशन वाचले प्रभावित बालबालिकाका लागि अल्पकालिन शिक्षाका लागि कक्षा सञ्चालन गरेर सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।
विश्वास नेपालकी कार्यकारी निर्देशक मधु गुरुङले विपदको घटनामा प्रभावित बालबालिका, महिला-पुरुष, ज्येष्ठ नागरिक सबै उमेर समूहका व्यक्ति मानसिक रुपमा धेरै विक्षिप्त बन्ने अवस्था भएकाले विश्वास नेपालमा कार्यरत चार जना मनोविमर्श कर्ताले मनोपरामर्श सेवा दिएर सहयोग गर्ने विचार व्यक्त गर्नुभयो । उहाँले विपदमा हरेक व्यक्ति संस्थाले आफूले सकेको सेवा उपलब्ध गराउँदा प्रभावितले राहत महसुस गर्छन् भन्दै मनोपरामर्श सेवा दिन विश्वास नेपाल तत्पर रहेको बताउनुभयो ।
गन्तव्यहिन यात्रामा रहेका बालबालिकाको संस्था ड्यूकमका नेटवर्क सदस्य प्रतिक्षा केसीले यस विपदको घडीमा बालबालिका धेरै अनाथ बनेको अवस्था पनि छ भन्दै जोखिममा पर्न सक्ने अवस्थामा बाल संरक्षणको मुद्दामा एकजुट भएर लाग्न आफू र आफ्नो संस्था प्रतिवद्ध रहेको बताउनुभयो । कन्सोर्टियम नेपालका कार्यक्रम संयोजक अस्मिता रिजालले बाल संरक्षणका लागि अल्पकालिन र दीर्घकालिन दुवै योजनामा काम गर्न कन्सोर्टियम नेपालमा आवद्ध सङ्घ संस्थाले सहकार्य गर्ने विचार व्यक्त गर्नुभयो ।
कमेन्ट गर्नुहोस्