न्युयोर्क (अमेरिका), असोज ५ गते । आइतबार बिहान न्युयोर्कको मौसममा अचानक परिवर्तन आयो, बिहानैदेखि सिमसिम पानी पर्न थाल्यो । यतिखेर यहाँको मौसम हल्का चिसो हुँदै गएको छ ।
तर, यहाँ मङ्गलबारदेखि संयुक्त राष्ट्रसङ्घको महासभामा उच्चस्तरीय राजनीतिक सम्बोधन सुरु हुने भएकाले राजनीतिक एवं कूटनीतिक माहोल भने तात्दै छ । उक्त सम्मेलनमा १३० देशका सरकार प्रमुखले सम्बोधन गर्ने राष्ट्रसङ्घका प्रवक्ताले यस अगाडि जानकारी दिइसक्नुभएको छ ।
यतिखेर न्युयोर्क सहरका अधिकांश होटलहरु भरिभराउ छन् । होटलका परिसर तथा वरपरसमेत महासभामा सहभागी हुन आएका विभिन्न देशका प्रतिनिधिहरुको चहलपहल देखिन्छ । विभिन्न देशका र अमेरिकाकै पनि अन्यत्र ठाउँबाट आएका मिडियाकर्मीहरुको पनि यतिखेर यहाँ भिडभाड देखिन्छ । राष्ट्रसङ्घीयको महासभाको समाचार सङ्कलनका लागि उनीहरु खटिएर आएका र आफ्ना काम सुरु गरिसकेका छन् ।
समाचारमा जनाइएअनुसार सोमबार नै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प वाशिङ्गटन डिसीबाट न्युयोर्क आइपुग्नुहुने कार्यतालिका रहेको छ । यसैगरी इजरायलका प्रधानमन्त्री वेन्जामिन न्यातन्याओ लगायतका नेताहरु न्युयोर्क आइपुग्दैछन् ।
विश्वभरिका शासकदेखि प्रशासकसम्म अभियन्तादेखि पत्रकारसम्म अमेरिकाको वित्तीय राजधानी रहेको न्युयोर्कमा आगामी दश दिनसम्म खचाखच रुपमा भरिनेछन् । विदेशी विशिष्ट पाहुनाहरु र त्यसमाथि पनि सरकार प्रमुखहरुको बसाइ यही एक माइलभित्र रहेका सुविधा सम्पन्न र विश्वकै महङ्गा होटलहरुमा रहने गरेका छन् ।
तीमध्ये मिलेनियम हिल्टन न्युयोर्क वान युएन प्लाजा, द वेष्टटिन न्यूयोर्क ग्राण्ड सेन्ट्रल वालड्रफ अष्टोरिया न्यूयोर्क, हयाट ग्राण्ड सेन्ट्रल लगायतका होटेलहरुमा बुकिङका लागि बन्द गरिएको छ । यस अगाडि बुकिङ भइसकेका या कतिपय मिशनहरु (राष्ट्रसङ्घका लागि दूतावास) अग्रिम बुकिङ गरिसकेका छन् ।
यतिखेर ती होटलका कर्मचारीहरुलाई भ्याइ नभ्याइ रहेको देखिएको छ । उनीहरु पनि पाहुनाहरुको सहयोगका लागि तत्परताका साथ लागिपरेका देखिन्छन् । उनीहरु कुनै पनि पाहुनाको लागि सहयोग गर्न उत्तिकै तयारी अवस्थामा रहेका छन् । त्यसो त न्युयोर्कको पर्यटन सिजन समर भएपनि सेप्टेम्बरदेखि डिसेम्बरसम्म निकै चहल पहल देखिन्छ ।
अहिले राष्ट्रसङ्घको मुख्यालयमा वरिपरि पैदल हिड्न बन्द गरिएको छ भने न्युयोर्क पुलिसले ठूलो सङ्ख्यामा क्याडेट परिचालन गरिसकेको छ । यहाँ वरपर भारी सङ्ख्यामा ब्यारियरहरु राखिएको छ ।
उच्चस्तरीय सप्ताह भएकाले कारगेड, स्कर्टिङ्ग गर्नेदेखि पाहुनाहरुलाई होटल र एयरपोर्टसम्म पुरयाउन कतिपय बाटोहरु एकतर्फी आवागमन र कतिपय बन्द गरिएको छ । राष्ट्रसङ्घले नै भिजिटरहरुको लागि अक्टोबर १२ सम्मलाई बन्द गरेको छ ।
यहाँ आवागमनका लागि बाटोहरु बन्द भएपनि सर्वसाधारणका लागि भने अण्डर ग्राउण्डबाट चल्ने रेलवे सिष्टम भएकाले आफ्ना काममा आवात जावत गर्न लागि गाह्रो हुँदैन ।
मुख्य रुपमा मिड म्यान हटन, युनाइटेड नेशन हेडक्वार्टर लगायतका सडक बन्द गरेर सार्वजनिक कार्यक्रमहरुको अयोजना गर्न पनि रोक लगाइएको छ । न्युयोर्क सिटीकी पुलिस कमिशनर जेसिका टिश्चले संवाददाताहरुसँग कुरा गर्दै भन्नुभयो, न्युयोर्क पुलिस डिपार्टमेन्ट पूर्ण रुपमा तयार र सतर्क रहेका छौँ ।
न्युयोर्कको एक स्थानीय होटलमा कार्यरत समिर पाँडेका अनुसार यहाँका होटलहरुमा सबैभन्दा व्यस्त सिजन सेप्टेम्बर नै हो, तर हामीहरुलाई महासभामा भाग लिन आउनेहरुको विषयमा स्पेशल भनेर भनिएको हुँदैन । उहाँका अनुसार यो समयमा होटेलहरुको उच्च दरको वुकिङ्ग भएकाले मूल्य पनि महङ्गो पर्ने हुन्छ । त्यसैले तीन महिना अगाडि बुकिङ गरेको खण्डमा किफायति मूल्यमा होटल प्राप्त गर्न सकिन्छ ।
म्यानहटनमा नै खुद्रा पसल चलाएर बसेका ओमप्रकाश खण्डेवाल यो समयमा उपहारका सामानहरुको व्यापार बढी हुने बताउनुहुन्छ । उहाँले विगत एक दशकमा सेप्टेम्बर महिनामा जहिले पनि व्यापार वढी हुने तथ्याङ्क आफूसँग रहेको बताउनुहुन्छ ।
न्युयोर्कमा नै बसेर उवर चलाउँदै आउनुभएका तिलक गुरुङका अनुसार यो सिजनमा धेरै स्थानमा अवरोध हुने भएकाले छोटो यात्रालाई पनि लामो समय लाग्ने, अन्तिम समयमा रुट परिवर्तन गराइदिने गरेकाले हैरानी त हुन्छ । गुरुङ्गका अनुसार यो समयमा सबवे (रेल) बाट यात्रा गर्दा धेरै सजिलो र किफायति हुन्छ ।
संयुक्त राष्ट्रसङ्घको मुख्यालय न्युयोर्कमा जारी महासभा आगामी २९ सेप्टेम्वरसम्म जारी रहनेछ । यसपटकको महासभाको “विश्वासको पुर्नस्थापना, रुपान्तरणको व्यवस्थापनः सबैको लागि कार्य गर्ने संयुक्त राष्ट्रसङ्घ” भन्ने नारा रहेको छ ।
नेपालको तयारी
न्युयोर्कस्थित नेपालको संयुक्त राष्ट्रसङ्घका लागि स्थायी नियोगका अनुसार प्रधानमन्त्री वालेन्द्र शाहले महासभाको ८१औँ सेसनलाई २४ सेप्टेम्बरमा सम्बोधन गर्नुहुने छ । यस सम्बोधनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको छ । यसैगरी परराष्ट्रमन्त्री शिशिर खनाल सोमबार महासभामा भाग लिनका लागि न्यूयोर्क आइपुग्नुहुने छ ।
भोटेकोशी बाढीका कारण नेपालले निकै ठूलो क्षति व्यहोर्नुपरेकाले यस पटकको महासभामा नेपालमाथि नै विश्वको ध्यान पुग्ने देखिएको छ । त्यसैले पनि यो महासभामा नेपालको सहभागिता र उपस्थिति महत्वपूर्ण रहेको छ ।
महासभाको एक मुख्य एजेण्डा नै जलवायु परिवर्तन हो । यसलाई नेपालले मुख्य रुपमा प्रभावित देशको उदाहरण सहित आफनो आवाजलाई वुलन्द बनाउन सक्नेछ ।
एकातिर विश्व जगतले समुन्द्रको सतह बढ्ने र त्यसले मानवीय, ऊर्जा, पूर्वाधारको क्षति वढाउने भन्दै चिन्ता व्यक्त गरिरहेका छन् । अर्कातर्फ विश्वका उच्च शिखरहरु मध्ये नेपालका आठ शिखर पग्लिदै गएर अन्तत्वगत्वा समुन्द्र सतह वृद्धि नै हुनेछ । त्यसैले नेपालले आयोजना गर्ने ‘सगरमाथा टु दि सी लेभल’ भन्ने नाराका साथ ‘साइडलाईन इभेन्ट’ महत्वपूर्ण हुने नै छ ।
त्यसमाथि नेपालले हरित ग्याँस उत्सर्जनमा कम योगदान तर क्षतिमा बढी व्यहोर्नु परेकाले हानी नोक्सानीको विषयमा पनि विश्वको ध्यान आकर्षित गर्ने नै छ । विश्वका विकसित देशहरुले यसमा योगदान गर्ने कोष बढाउन दबाब दिने यो समय उपयुक्त भएकाले राष्ट्रसङ्घका अधिकारीहरु नै यसलाई जोडतोडका साथ उठाइरहेका छन् ।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले जलवायु परिवर्तनले देशहरु र मानिसहरुको जीवनमा पार्ने असर निकै खराब हुँदै गएको र यसको पछिल्लो प्रमाण नेपालको घटना हो भन्नु भएको थियो ।
गत बुधबार मात्रै पनि संयुक्त राष्ट्रसङ्घको मुख्यालय न्युयोर्कमा ८१औँ महासभाको उच्चस्तरीय सप्ताह सुरु हुन लागेको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै महासचिव गुटेरेसले उक्त धारणा राख्नु भएको हो ।
संवाददाताहरुले उच्चस्तरीय बैठकहरुमा नेपालमा हालै आएको विपद् र विश्वव्यापी तापक्रम वृद्धिको सम्वन्धमा कुनै ठोस नतिजाको अपेक्षा गर्न सकिन्छ भन्ने प्रश्नको जवाफ दिँदै महासचिव गुटेरेसले अगाडि थप्नु भयो– तीन वर्ष अगाडि म अन्नपूर्ण र सगरमाथाका हिमनदीहरुमा गएको थिएँ, त्यति बेला नै मैले भनेको थिएँ कि अवस्था निकै खराब हँुदै गइरहेको छ र कुनै पनि विनाशकारी घटना घट्न सक्छ र अहिले त्यस्तै भएको छ ।
महासचिव गुटेरेसले जलवायु परिवर्तनले देशहरुको अवस्था अझै विग्रन सक्ने भन्दै सचेत रहनसमेत आग्रह गर्नुभएको छ । यसैले यस पटकको महासभामा नेपालले जलवायु न्याय के कति मात्रामा प्राप्त गर्न सफल हुन्छ भन्ने त भविष्यको विषय हो तर नेपालले आफनो भनाई राख्नका लागि उपयुक्त अवसर भने अवश्य प्राप्त गरेको छ । आशा गरौँ अरु महासभा भन्दा नेपालले यो महासभाबाट बढी भन्दा बढी लाभ लिन सफल होस् ।
समयमा नै सचेतता नअपाउने हो भने सेप्टेम्बरमा सिमसिम परेको पानीजस्तै झन् बढ्दै जाने र दुई दशकपछि हिमपात भएर राष्ट्रसङ्घको महासभालाई नै अवरोध पुर्याउने पो हो कि ? त्यसैले जलवायु परिवर्तन जस्तो गम्भीर समस्याले विश्वको मानचित्रमा नै धक्का दिने भएकाले यसमा विश्वभरका सरकार प्रमुखहरुले प्रतिवद्धता अनुसारको काम गरेर भावी पिँढीका लागि सवल र सक्षम पृथ्वी हस्तान्तरण गर्न सफलता मिलोस् । रासस
कमेन्ट गर्नुहोस्