शारदा (सल्यान), असोज ५ गते । सल्यानमा आँखा परीक्षण गराएकामध्ये ६१ प्रतिशतभन्दा बढीलाई चस्मा आवश्यक देखिएको छ ।
जिल्लाको छत्रेश्वरी गाउँपालिका वडा नं. ६ भोटेचौरमा सञ्चालन गरिएको निःशुल्क आँखा शिविरमा परीक्षण गराएका ६१ प्रतिशतभन्दा बढीलाई चस्मा आवश्यक देखिएको हो ।
शिविरमा तीन सय ४५ जनाको आँखा परीक्षण गर्दा दुई सय नौ जनालाई चस्मा वितरण गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गणेशमान डाँगीले जानकारी दिनुभयो ।
त्रिभुवन जनता माध्यमिक विद्यालयमा सञ्चालित शिविरमा दुई सय १९ महिला र एक सय २६ पुरुषले आँखा परीक्षण गराएका थिए ।
पाँच वर्षदेखि ९० वर्ष उमेर समूहका नागरिक सहभागी शिविरमा पाँच जनामा मोतिबिन्दुको समस्या समेत पहिचान भएको थियो । उनीहरूलाई थप उपचारका लागि रिफर गरिएको डाँगीले बताउनुभयो ।
हातेमालो नेपालगन्ज, रोटरी क्लब अफ धुलिखेल र रोटरी क्लब अष्ट्रेलियाको सहकार्य तथा अष्ट्रेलियन दृष्टि विज्ञहरूको सहयोगमा शिविर सञ्चालन गरिएको हो ।
गाउँपालिकाले शिविरका लागि समन्वय गरेको थियो । गाउँपालिका अध्यक्ष ओजबहादुर बुढाथोकीले ग्रामीण क्षेत्रका नागरिकमा आँखा सम्बन्धी समस्या भए पनि नियमित परीक्षण गर्ने अवसर नपाउने अवस्था रहेको भन्दै स्थानीयस्तरमा सञ्चालन हुने यस्ता शिविरले समयमै समस्या पहिचान गर्न सहयोग पुग्ने बताउनुभयो ।
ग्रामीण क्षेत्रका नागरिकलाई स्थानीयस्तरमै सहज र गुणस्तरीय आँखा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले शिविर सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ ।
कमेन्ट गर्नुहोस्