काठमाडौँ, असोज ५ गते । ओप्सना फिल्म्सको आयोजनामा तेस्रो ‘राष्ट्रिय ओप्सना फिल्म्स एन्ड म्युजिक अवार्ड–२०८३’ वरिष्ठ गायक दीपक खरेल र वरिष्ठ गीतकार बुद्धवीर लामालाई ‘सङ्गीत जीवन साधना सम्मान’ प्रदान गरिएको छ ।
गीत/सङ्गीत तथा चलचित्र क्षेत्रका सर्जक र कलाकारलाई विभिन्न २४ विधामा प्रदान गरिएको अवार्ड कार्यक्रममा गायक आनन्द कार्की र प्रदीपराज पाण्डेलाई ‘विशिष्ट गायन रत्न सम्मान’ बाट सम्मानित गरिएको थियो । समारोहमा गायक मोतीराज खनालले सर्वोत्कृष्ट भजन गायकको अवार्ड हात पार्नुभएको छ ।
यसै गरी चलचित्र क्षेत्रतर्फ निखिल उप्रेती, सञ्चिता लुइँटेल र पूजना प्रधान गुरुङलाई ‘विशिष्ट चलचित्रकर्मी सम्मान’ प्रदान गरिएको थियो । गायक तथा सङ्गीतकार अशोक मुकारुङ, चलचित्रकर्मी किशोर झा, गायक पुष्कर सुनुवार, गायक तथा सङ्गीतकार चित्र आठपहरिया, ट्याटु कलाकार सुनिता कुँवर, प्रशान्त पाराङदेन लिम्बू, कविता राई, निर्माता श्रीकृष्ण विष्ट र गायक निमा शेर्पालगायतलाई पनि विभिन्न शीर्षकमा सम्मान गरिएको थियो । समारोहमा अवार्ड जुरी सदस्यका रूपमा सङ्गीतकार राजु सिंह, सङ्गीतकार तथा सङ्गीत संयोजक अशोक लोहोरुङ राई, चलचित्र निर्देशक तथा कलाकार उदय सुब्बा र हास्य कलाकार दिवाकर भण्डारी रहनुभएको थियो ।
सर्वोत्कृष्ट राष्ट्रिय भाव गीतमा ‘यो देशले तिम्रो’, सर्वोत्कृष्ट भजन गायकमा मोतीराज खनाल, सर्वोत्कृष्ट गीतकारमा चन्द्र जयपाल राई, सर्वोत्कृष्ट पप गायिका तपस्या राई, सर्वोत्कृष्ट पुरुष मोडेल ज्ञानदीप सुवेदी, सर्वोत्कृष्ट लोकगायक सोम गुरुङलाई प्रदान गरिएको थियो । यस्तै सर्वोत्कृष्ट सङ्गीतकारमा सुरेश राई, सर्वोत्कृष्ट म्युजिक भिडिओ निर्देशकमा किशोर सुब्बा, सर्वोत्कृष्ट आधुनिक गायक मेघराज रानोहन्छा, सर्वोत्कृष्ट लोक आधुनिक गायिकामा सुनिता राई, सर्वोत्कृष्ट युगल गायिकामा मेनुका राई, सर्वोत्कृष्ट आधुनिक गीतकारमा कुमार केरुङ, सर्वोत्कृष्ट लिम्बू पालाम गायकमा भीमकुमार तुम्बापोले प्राप्त गर्नुभयो ।
कमेन्ट गर्नुहोस्