काठमाडौँ, असोज ५ गते । नेपालमा पुनः भारी वर्षाको जोखिम बढेको भन्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तीन दिनसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । नेपाल मौसम विज्ञान विभागले जारी गरेको विशेष मौसमी बुलेटिनअनुसार आगामी असोज ९ गते शुक्रबारदेखि असोज ११ गते आइतबारसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारी वर्षा तथा एक–दुई स्थानमा अति भारी वर्षाको सम्भावना रहेको छ ।
प्राधिकरणका अनुसार सो अवधिमा कोशी, मधेश, बागमती र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पनि मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारी वर्षा हुन सक्नेछ । देशका अधिकांश स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यमदेखि भारी वर्षाको सम्भावना रहेकाले बाढी, पहिरो, गेग्रान बहाव र डुबानको जोखिम बढ्ने जनाइएको छ ।
उत्तर अनन्तरको आसपासको क्षेत्रमा विकसित न्यून चापीय क्षेत्र हाल बङ्गालको खाडीको मध्य–उत्तर आसपासमा रहेको र उक्त प्रणाली थप शक्तिशाली बन्दै ‘डीप डिप्रेसन’ (बलियो न्यून चापीय क्षेत्र) भई पश्चिम–उत्तरपश्चिम दिशातर्फ सर्ने देखिएको प्राधिकरणले जनाएको छ । यसको प्रभावले बुधबारदेखि नै कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मध्यमदेखि भारी वर्षा हुने सम्भावना रहेको सूचनामा उल्लेख छ ।
भारी वर्षाका कारण नदी तथा खोलामा आकस्मिक बाढी आउने, पहिरो जाने, गेग्रान बहाव बढ्ने तथा सहरी र तराई क्षेत्रमा डुबान हुन सक्ने भएकाले अत्यावश्यकबाहेक रातको समयमा यात्रा नगर्न प्राधिकरणले आग्रह गरेको छ । सम्बन्धित सङ्घीय मन्त्रालय तथा निकाय, प्रदेश सरकार, स्थानीय तह, तीनवटै सुरक्षा निकाय र स्वयम्सेवकलाई आमसर्वसाधारणलाई सूचित गरी प्रतिकार्यका लागि तयारी अवस्थामा रहन भनिएको छ । जोखिमयुक्त राजमार्ग तथा सडकमा डोजर, एक्स्काभेटर, लोडरलगायतका साधन तयारी अवस्थामा राख्न पनि निर्देशन दिइएको छ ।
जिल्ला सुरक्षा समिति, स्थानीय तह, सुरक्षा निकाय र स्वयम्सेवकले पूर्वसूचना तथा चेतावनीअनुसार जोखिमयुक्त स्थानमा बसोबास गर्ने व्यक्ति तथा परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने प्राधिकरणले जनाएको छ । आकस्मिक बाढी आउन सक्ने खोला, खहरे तथा नदी किनारका बस्तीका बासिन्दालाई विशेष सावधानी अपनाउन भनिएको छ ।
प्राधिकरणले वर्षा र बाढीसम्बन्धी जानकारी लिन ११५५, विपद्मा मद्दत माग्न ११४५ तथा नेपाल प्रहरीको हटलाइन १०० र सशस्त्र प्रहरी बल, नेपालको हटलाइन १११४ मा सम्पर्क गर्न आग्रह गरेको छ । मौसम विज्ञान विभाग र प्राधिकरणबाट जारी हुने अद्यावधिक पूर्वानुमान, पूर्वसूचना तथा चेतावनीसम्बन्धी जानकारी लिइरहनसमेत अनुरोध गरिएको छ ।
कमेन्ट गर्नुहोस्