काठमाडौँ, असोज ७ गते । सरकारले खाना पकाउने ग्यासमा दुई थरी तौल कायम गर्ने गरी अध्ययनको काम अगाडि बढाएको छ । घरायसी प्रयोजन र व्यावसायिक प्रयोजनका लागि १४.२ केजी तौलको सिलिन्डर कायम रहेकाले फरक फरक तौलको सिलिन्डर बनाउने गरी अध्ययन सुरु गरिएको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव एवं प्रवक्ता जितेन्द्र बस्नेतको संयोजकत्वमा गठन भएको समितिले अध्ययन थालेको हो । समितिमा नेपाल गुणस्तर तथा नापतौल विभाग, भन्सार विभाग, नेपाल आयल निगम र ग्यास उद्योगीका प्रतिनिधि रहेका छन् ।
प्रवक्ता बस्नेतले व्यावसायिक प्रयोजनका लागि सिलिन्डरको तौल फरक बनाउने गरी अध्ययन भइरहेको जानकारी दिनुभयो । गुणस्तर तथा नापतौल विभागले व्यावसायिक प्रयोजनका लागि ४५० केजी तौलको मापदण्ड बनाइसकेकाले त्यसलाई पनि आधार लिइएको उहाँले जानकारी दिनुभयो । ग्यास उद्योगीसहितको टोलीले अध्ययनको काम सुरु गरिसकेकाले १५ दिनमा प्रतिवेदन तयार गरिने उहाँले जानकारी दिनुभयो ।
बजारमा ग्यासको अभाव भएपछि घरायसी र व्यावसायिक प्रयोजनका लागि छुट्टाछुट्टै मूल्य र तौलको सिलिन्डर बनाउनुपर्ने विषय उठेको थियो । यसअघि ग्यासमा मन्त्रालयले र निगमले दुई थरी तौलका सिलिन्डर बनाउने भनेर पटक पटक अध्ययन गरे पनि कार्यान्वयनमा आउन सकेको छैन । २०८० असोज २२ मा प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिमा ठुला ग्यास सिलिन्डर प्रयोगबारे छलफल भएको थियो । नेपाल आयल निगमको ‘एलपी ग्यास विनियमावली २०६५’ ले नै विभिन्न तौल र आकारका सिलिन्डर बिक्री गर्न सकिने व्यवस्था गरेको छ । ग्यास उद्योगले पनि विभिन्न आकार र तौलका सिलिन्डर बजारमा ल्याउनुपर्ने निगमसँग माग राख्दै आएका थिए ।
गुणस्तर तथा नापतौल विभागले पाँच केजी, १४.२ केजी र १९ केजी र ४५० केजी तौलको ग्यास सिलिन्डर प्रयोगमा ल्याउने मापदण्ड तयार गरिसकेको छ ।
नेपाल एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष दिवान चन्दले व्यावसायिक प्रयोजनका लागि ४५० केजीको सिलिन्डर आवश्यक रहेको बताउनुभयो । “पाँचतारे होटेलमा धेरै सङ्ख्यामा ग्यास सिलिन्डर होल्ड गरेर राख्नुभन्दा धेरै तौलको सिलिन्डर प्रयोग गर्न उपयुक्त हुन्छ,” चन्दले भन्नुभयो, “४५० केजी तौलको सिलिन्डर प्रयोगमा ल्याउँदा अनुदानसमेत दिनु पर्दैन ।”
अहिले ग्यासमा प्रतिसिलिन्डर ४११ रुपियाँ घाटा रहेको निगमको दाबी छ । घाटा रकम निगमले अनुदानबापत उपलब्ध गराइरहेको छ । निगमका अनुसार घरायसी र व्यावसायिक प्रयोजनका लागि एउटै मूल्य हुँदा ग्यासमा वार्षिक सातदेखि आठ अर्ब रुपियाँ अनुदानबापत गइरहेको छ जुन सुविधा उद्योगीले समेत पाइरहेका छन् । छिमेकी मुलुक भारतमा पनि ४५० किलोग्राम क्षमताका एलपिजी ग्यास सिलिन्डर औद्योगिक तथा व्यावसायिक प्रयोजनका लागि प्रयोगमा रहेका छन् ।
इन्डियन आयल कर्पोरेसन (आइओसी) अन्तर्गतको इन्डियन ब्रान्डले ‘जम्बो सिलिन्डर’ नाममा ४५० किलोग्राम क्षमताको एलपिजी सिलिन्डर बजारमा ल्याएको छ । विशेष गरी यस्ता सिलिन्डर होटेल, रेस्टुरेन्ट तथा क्यान्टिनमा प्रयोग हुँदै आएका छन् । यसै गरी सुपरग्यास कम्पनीले पनि ‘म्याक्सिमा’ नामक ४५० किलो क्षमताको सिलिन्डर सञ्चालनमा ल्याएको छ ।
त्यस्तै टोटल इनर्जीले मिनी बल्क सिलिन्डर सेवामार्फत पनि ४५० किलोग्राम क्षमताको एलपिजी सिलिन्डर उपलब्ध गराउँदै आएको छ । यस्ता सिलिन्डर विशेष गरी धातु, फलाम तथा स्टिल उद्योग जस्ता उच्च ग्यास प्रवाह आवश्यक पर्ने क्षेत्रमा प्रयोग गरिन्छ ।
निगमका अनुसार बजारमा ७० प्रतिशत घरायसी र ३० प्रतिशत सिलिन्डर व्यवसायी प्रयोजनका लागि खपत हुने गर्छन् । प्रतिसिलिन्डर दुई हजार ६० रुपियाँ ग्यासको मूल्य रहेको छ । यो मूल्य पाँचतारे होटेलदेखि सर्वसाधारण उपभोक्ताका लागि एकै हो ।
भारतमा घरायसी विपन्न वर्गका उपभोक्तालाई ग्यासमा अनुदानको व्यवस्था छ । व्यावसायिक र घरायसी प्रयोजनका लागि मूल्यसमेत छुट्टाछुट्टै व्यवस्था छ ।
कमेन्ट गर्नुहोस्