काठमाडौँ, असोज ९ गते । अन्डमान सागरमा उत्पत्ति भई बङ्गालको खाडीमा विकसित भएको शक्तिशाली न्यूनचापीय क्षेत्र भारतको ओडिशा तटीय क्षेत्र पार गरेपछि त्यसको प्रभाव नेपालमा बढेको छ। आज र भोलि उक्त प्रणालीको उच्च प्रभावका कारण नेपालका अधिकांश भेगमा भारी वर्षासँगै उच्च हिमाली क्षेत्रमा हिउँ हुरीसहित भारी हिमपात भइरहेको छ।
शक्तिशाली न्यूनचापीय क्षेत्र भारतको विशाखापट्टनम र गोपालपुरको बिचबाट अघि बढ्दै कलिङ्गपट्टनमको दक्षिणपश्चिम नजिकबाट उत्तर आन्ध्र प्रदेश तथा दक्षिण ओडिशाको तटीय क्षेत्र पार गरेको हो। उक्त प्रणाली उत्तरपश्चिमतर्फ सर्दै आगामी २४ घण्टामा क्रमशः कमजोर हुने अनुमान मौसम विज्ञान विभागले गरेको छ।
उक्त प्रणालीको प्रभावले नेपालमा देशव्यापी बदलीसँगै अधिकांश स्थानमा वर्षा भइरहेको छ। विभागका अनुसार हिमाली क्षेत्रमा भारी हिमपात भइरहेको छ।
सर्वोच्च शिखर सगरमाथा आसपास बुधबारदेखि सुरु भएको हिमपात बिहीबार पनि जारी रहेको आधार शिविरस्थित पिरामिड प्रयोगशालाका व्यवस्थापक काजी विष्टले जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “लगातार हिउँ परिरहेको छ। साँझदेखि झनै बाक्लिएको छ। मध्य हिउँदको जस्तो मौसम सगरमाथा क्षेत्रमा बनेको छ।”

उहाँ बस्ने आसपासका क्षेत्रमा बिहीबारसम्म दुई फिटभन्दा बढी बाक्लो हिउँ परिसकेको छ। पिरामिड प्रयोगशालाको भवनसमेत पूरै हिउँले ढाकिएको छ। पाँच हजार ५० मिटर उचाइमा रहेको उक्त प्रयोगशालाले हिमाली क्षेत्रको वातावरण र जनजीवनको अध्ययन गर्दै आएको छ।
त्यस्तै अन्नपूर्ण, मनास्लु, धौलागिरि, कञ्चनजङ्घालगायत आरोहण हुने हिमाली क्षेत्रमा समेत भारी हिमपात भएको छ। मौसम बिग्रिएपछि धेरै आरोही सुरक्षित स्थानतर्फ फर्कने क्रम बढेको छ।
मौसम विज्ञान विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सुदूरपश्चिम, कर्णाली र बागमती प्रदेशका उच्च हिमाली क्षेत्रमा माइनस २७ डिग्री सेल्सियससम्म तापक्रम रहेको छ। त्यस्तै गण्डकी प्रदेशका उच्च हिमाली क्षेत्रमा माइनस २६ र कोशी प्रदेशका उच्च हिमाली क्षेत्रमा माइनस २५ डिग्री सेल्सियस तापक्रम रेकर्ड भएको छ।
उच्च हिमाली क्षेत्रमा हिउँको हुरी चलिरहेको छ। हावाको वेग सामान्यतया १० नटबाट बढेर ५० नटसम्म पुगेको छ। गण्डकी, कर्णाली र सुदूरपश्चिमका सात हजार मिटरभन्दा माथिका क्षेत्रमा ५० नटसम्म तथा कोशी र वाग्मती प्रदेशका सात हजार मिटरभन्दा माथिका हिमालमा ४० नटसम्म हावाको वेग रहेको विभागले जनाएको छ। हावाको वेग ४० नटभन्दा माथि पुगेपछि त्यसलाई हुरीका रूपमा लिने गरिन्छ।
हाल कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा अधिकांश स्थानमा बादल लागेको छ भने सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको छ। कोशी, मधेश र बागमती प्रदेशका धेरै स्थानमा, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

मौसमविद् निष्ठा निरौलाका अनुसार देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा आगामी दिनमा पनि जारी रहनेछ। केही स्थानमा भारी वर्षा दोहोरिने सम्भावना रहेको उहाँले बताउनुभयो। उहाँका अनुसार गत २४ घण्टामा पाल्पाको बल्ड्याङगढीलगायत विभिन्न वर्षा मापन केन्द्रमा भारी वर्षा रेकर्ड भएको छ।
अर्घाखाँची र कपिलवस्तु आसपासका क्षेत्रमा पनि भारी वर्षा भएको छ। भोलिसम्म कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। मधेश प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको विभागले जनाएको छ।
भोटेकोशी हिमबाढी प्रभावित क्षेत्रमा शुक्रबार भारी वर्षाको प्रबल सम्भावनासँगै रेड अलर्ट जारी गरिएको छ। वर्षासँगै गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयजस्ता प्रकोपको जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।
वर्षाका कारण विभिन्न क्षेत्रमा दैनिक जनजीवनसँगै कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायात प्रभावित हुने सम्भावना रहेको जनाइएको छ।
कमेन्ट गर्नुहोस्