काठमाडौँ, असोज १६ गते । नजिकिँदै गरेका दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै काठमाडौँ उपत्यकामा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको छ ।
‘सुरक्षित सडक र सवारी, हामी सबैको जिम्मेवारी’ भन्ने सन्देशसहित शुक्रबार नयाँ बसपार्कमा आयोजित कार्यक्रममा काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक शुशील सिंह राठौरले रिबन काटेर यात्रु सहायता कक्षको शुभारम्भ गर्नुभयो ।
चाडपर्वका बेला काठमाडौँ उपत्यकाबाट बाहिरिने यात्रुको चाप बढ्ने र उनीहरूलाई विभिन्न समस्या पर्न सक्ने भएकाले सुरक्षित, व्यवस्थित र सहज यात्राका लागि सहायता कक्ष स्थापना गरिएको हो ।
यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी, सामुदायिक प्रहरी, यातायात व्यवसायी तथा उपभोक्ता समूहका प्रतिनिधिहरूको संयुक्त पहलमा सहायता कक्ष सञ्चालनमा ल्याइएको हो ।
नयाँ बसपार्कसहित माछापोखरी, टोखा, तीनपिप्ले, भीमढुङ्गा, नाङ्लेभार, कलंकी, बल्खु, नागढुङ्गा, कोटेश्वर, चाबहिल, फर्पिङ, साँखु, चापागाउँ र जगाती गरी उपत्यकाका १५ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिनेछ ।
शुभारम्भ कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक राठौरले चाडपर्वका बेला यात्रुको बाध्यता र चापलाई अनुचित आर्थिक लाभ लिने अवसर बनाउन नहुने बताउनुभयो ।
उहाँले क्षमताभन्दा बढी यात्रु चढाउने, तोकिएकोभन्दा बढी भाडा असुल्ने, टिकटमा कालोबजारी गर्ने, टिकट नदिने तथा यात्रुसँग अनावश्यक शुल्क लिने जस्ता गतिविधि नगर्न यातायात व्यवसायीलाई सचेत गराउनुभयो ।
यस्ता गतिविधि तथा यात्रुमाथि हुने दुर्व्यवहारमा संलग्नलाई प्रचलित कानुनअनुसार कारबाही गरिने उहाँको भनाइ थियो ।
कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौला र नेपाल यातायात स्वतन्त्र मजदुर संघका केन्द्रीय उपाध्यक्ष नवराज घिमिरेले मन्तव्य राख्नुभएको थियो ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेले यात्रुको बढी भीडभाड हुने स्थानलाई प्राथमिकतामा राखेर सहायता कक्ष स्थापना गरिएको बताउनुभयो ।
यात्रुलाई पर्न सक्ने समस्या समाधान गर्नुका साथै आवागमन सहज बनाउन सहायता कक्षले सहजीकरण गर्ने उहाँले जानकारी दिनुभयो ।
सहायता कक्षबाट यात्रुको गुनासो सम्बोधन, भाडादरको निगरानी, फर्जी टिकटमाथि कारबाही, आधिकारिक व्यक्तिबाट टिकट जारी भए–नभएको जाँच तथा सुरक्षित आवागमनसम्बन्धी सूचना र सचेतना प्रदान गरिनेछ ।
त्यस्तै, मनसुनजन्य विपद्का कारण सडक तथा सवारी आवागमन अवरुद्ध भएमा त्यससम्बन्धी जानकारीसमेत यात्रुलाई उपलब्ध गराइनेछ ।
कमेन्ट गर्नुहोस्