काठमाडौँ, असोज १६ गते । शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘बा :एक योद्धा’ ले प्रदर्शनको पाँचौँ दिनसम्म आइपुग्दा दर्शकको उल्लेखनीय साथ पाएको छ । सुरुवाती तीन दिन लगातारको वर्षाका कारण अपेक्षाकृत कम दर्शक पाएको चलचित्रले मङ्गलबारदेखि भने हलमा दर्शकको चाप बढाएको हो ।
मङ्गलबारदेखि सुरु भएको ‘डिल डे’ अर्थात् ५० प्रतिशत छुटको प्रभावसँगै चलचित्रका अधिकांश सोमा दर्शकको उपस्थिति बढेको निर्माण तथा वितरण पक्षले जनाएको छ । मङ्गलबार देशभर ७९ सोमा प्रदर्शन भएको चलचित्रका थुप्रै सोहरू दिनभर नै हाउसफुल भएको वितरकको भनाइ छ ।
बुधबार आइपुग्दा चलचित्रको सो सङ्ख्या पनि बढाइएको छ । वितरकका अनुसार देशभर चलचित्रले एक सयभन्दा बढी सो पाएको छ । दर्शकको माग बढ्दै गएपछि विभिन्न हलले थप सो थपिरहेका छन् । काठमाडौँ उपत्यकाका प्रमुख मल्टिप्लेक्सदेखि मोफसलका हलसम्म चलचित्रप्रति दर्शकको चासो बढेको देखिएको छ ।
चलचित्रले दर्शकबाट पाइरहेको प्रतिक्रियामा भने भावनात्मक पक्ष प्रमुख देखिएको छ । चलचित्र हेरेका अधिकांश दर्शकले ‘बा :एक योद्धा’ ले आफूलाई भावुक बनाएको, रुवाएको तथा आफ्नै परिवार, आफन्त र छिमेकीले भोगेको जस्तो कथा प्रस्तुत गरेको प्रतिक्रिया दिएका छन् ।
विशेष गरी चलचित्रमा बुवाआमाले सन्तानका लागि गर्ने त्याग र सङ्घर्षलाई प्रस्तुत गरिएको भन्दै दर्शकले प्रशंसा गरिरहेका छन् । कतिपय दर्शकले चलचित्र हेरेपछि आफ्ना बुवाआमालाई सम्झिएको र आफ्ना सन्तानलाई पनि यस्तो चलचित्र देखाउनुपर्ने प्रतिक्रिया दिएका छन् । सन्तानले आफ्ना अधिकारका विषयमा आवाज उठाए पनि बुवाआमाप्रतिको दायित्व बिर्सन नहुने सन्देश चलचित्रले दिएको दर्शकको भनाइ छ । वृद्ध अवस्थामा पुगेका आमाबुवाले सन्तानबाट भोग्नुपर्ने पीडा र उनीहरूको जीवनभरको त्यागलाई चलचित्रले भावनात्मक रूपमा प्रस्तुत गरेको दर्शकको प्रतिक्रिया छ ।
चलचित्रको कथा नेपाली समाजमा सन्तानको भविष्यका लागि बाबुले गर्ने त्याग, सङ्घर्ष र जीवनभर झेल्ने चुनौतीमा केन्द्रित छ । सन्तानको इच्छा पूरा गर्न आमाबुवाले गर्ने सङ्घर्षदेखि वृद्ध अवस्थामा पाउने उपेक्षा र दुःखसम्मका विषयलाई चलचित्रले दर्साएको छ । चलचित्रमा दिव्यदेव, झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर शिवाकोटी, सुप्रज्ञा शर्मा, शवि थापालगायतका कलाकारको अभिनय रहेको छ ।
हरि लम्सालको लेखन तथा निर्देशनमा बनेको चलचित्र ‘बा :एक योद्धा’ आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको हो । चलचित्रको कथा तथा पटकथा पनि निर्देशक लम्सालकै रहेको छ । चलचित्रका निर्माता वसन्त लम्साल हुन् भने अनिल बुढाथोकी कार्यकारी निर्माता रहेका छन् । अर्जुन पौडेल लाइन प्रोड्युसर तथा कृष्ण काफ्ले सहनिर्माताका रूपमा छन् ।
कमेन्ट गर्नुहोस्