शारदा (सल्यान), असोज १६ गते । सल्यानमा स्क्रब टाइफसबाट थप एक जनाको मृत्यु भएको छ । छत्रेश्वरी गाउँपालिका–२, दहखोलाकी ५१ वर्षीया नन्दा घर्तीको उपचारका क्रममा नेपालगन्जमा मृत्यु भएको हो । योसँगै जिल्लामा स्क्रब टाइफसका कारण मृत्यु हुनेको संख्या नौ पुगेको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ ।
छत्रेश्वरी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गणेशमान डाँगीका अनुसार घर्तीको श्रीनगरमा गरिएको परीक्षणबाट स्क्रब टाइफस संक्रमण पुष्टि भएको थियो । परीक्षणपछि घर फर्किनुभएकी उहाँको स्वास्थ्य अवस्था थप जटिल भएपछि उपचारका लागि नेपालगन्ज लगिएको थियो । उपचारकै क्रममा उहाँको मृत्यु भएको डाँगीले जानकारी दिनुभयो ।
छत्रेश्वरी गाउँपालिकामा हालसम्म ८६ जनाको स्क्रब टाइफस परीक्षण गर्दा २९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य शाखाले जनाएको छ । गाउँपालिकामा संक्रमणको दर बढ्दै गएको शाखाको भनाइ छ ।
स्वास्थ्य सेवा कार्यालय सल्यानका जनस्वास्थ्य अधिकृत ताराप्रसाद रिजालका अनुसार जिल्लाभर हालसम्म ५७५ जनाभन्दा बढीमा स्क्रब टाइफस संक्रमण पुष्टि भइसकेको छ । जिल्लामा सबैभन्दा बढी संक्रमण दार्मा गाउँपालिकामा देखिएको छ । दार्मामा मात्रै १५३ जनाभन्दा बढी संक्रमित भएका छन् ।
दार्मा गाउँपालिकामा यसअघि नै स्क्रब टाइफसका कारण आठ जनाको मृत्यु भइसकेको थियो । पछिल्लो पटक छत्रेश्वरीकी एक महिलाको मृत्यु भएपछि जिल्लामा यस रोगबाट मृत्यु हुनेको संख्या नौ पुगेको हो ।
सल्यानमा हालसम्म दार्मा, कपुरकोट, कुमाख, छत्रेश्वरी, कालीमाटी, बागचौर र बनगाड कुपिण्डेमा स्क्रब टाइफसको संक्रमण देखिएको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ ।
स्वास्थ्यकर्मीहरूका अनुसार मुसा तथा अन्य साना जनावरमा पाइने किर्नाजस्तो सूक्ष्म जीव ‘माइट’ को टोकाइबाट स्क्रब टाइफस सर्ने गर्छ । समयमै संक्रमण पहिचान गरी उपचार नगरे रोग जटिल बन्दै ज्यान जाने जोखिम हुन्छ ।
यसैबिच दार्मा गाउँपालिका–१ मा पिउने पानीको सुरक्षा तथा गुणस्तर निगरानी, संक्रामक रोग निगरानी र स्क्रब टाइफसबारे जनचेतनामूलक कार्यक्रम गरिएको छ ।
कार्यक्रममा स्वास्थ्य सेवा कार्यालयका जनस्वास्थ्य अधिकृत ताराप्रसाद रिजालले स्क्रब टाइफसका लक्षण, संक्रमणबाट बच्ने घरेलु उपाय तथा शंकास्पद लक्षण देखिए तत्काल स्वास्थ्य संस्थामा पुग्नुपर्नेबारे जानकारी गराउनुभएको थियो । साथै पिउने पानीको शुद्धीकरण, पानीका मुहान तथा स्रोतको व्यवस्थापन र दूषित पानीबाट हुने रोगबाट बच्ने उपायबारे पनि जानकारी दिइएको थियो ।
स्वास्थ्य सेवा कार्यालयले यसअघि दार्मा गाउँपालिका–१ र ५ मा स्क्रब टाइफसविरुद्ध मास क्याम्प सञ्चालन गरी स्थानीयलाई स्वास्थ्य सेवा प्रदान गरेको थियो ।
कमेन्ट गर्नुहोस्