पाख्रीबास (धनकुटा), असोज २९ गते । दसैँमा मान्यजनवाट टीका जमरा आर्शीवाद लिएर एकपटक धर्ती छाड्नुपर्ने मान्यता रहिआएको पाइन्छ । दसैँ सुरु भएसँगै धनकुटाका गाउँघदेखि सहर बजारसम्म लिङ्गे पिङ लगाउन सुरु भएको छ ।
गाउँघरमा केटाकेटीदेखि लिएर युवायुवतीहरू चाडपर्वमा रमाइलो गर्नेमध्येको लिङ्गे पिङ लगाउन सुरु भएको हो । दसैँ र तिहारलाई लक्षित गरी लगाइने पिङ एक दशक अघिसम्म धनकुटामा जताजतै देख्न पाइन्थ्यो । पछिल्लो केही वर्षयता यता हराउँदै गएको लिङ्गे पिङ पुनः गाउँघर तथा बजारमासमेत लगाउन थालेका छन् ।
धनकुटाका स्थानीयको अगुवाईमा संस्कृति जोगाइराख्न लिङ्गे पिङ लागाइएको छ । दसैं सुरु भएलगत्तै गाउँ–गाउँमा लिङ्गे र रोटे गरी दुई किसिमका पिङ लाउने प्रचलनमा थिए ।
गाँउले भेला भएर स्थानीय बाबियो बाँसलगायतका सामग्रीबाट लिङ्गे पिङ तयार पारिन्थ्यो । त्यस्तै खयर सल्लो लगायतको काठबाट रोटेपिङ बनाउने गरिन्छ । अहिले युवा पुस्तामा अन्य मनोरञ्जनका साधनमा मोह भएका कारण पिङ लोप हुँदै गएको धनकुटाका स्थानीय खेम घिमिरे बताउनुहन्छ ।
दसैँ आएसँगै घरमा रङरोगन गर्ने साथै पिङ हाल्ने प्रचलन रहेको तर पहिलाकोजस्तो चहलपहल भने नहुने उहाँको भनाइ छ ।
पहाडी क्षेत्रमा गाउँका सबैजना भेला भएर दसैँ आउनु अगावै नै बाबियो काट्ने गरिन्छ । चाडबाड मात्रै नभई मनोरञ्जनका लागि पनि लिङ्गे पिङलाई लिने गरिन्छ |
दसैँको समयमा नौरथा लागेसँगै गाउँघरमा सबै जम्मा भएर पिङ लगाइने र तिहारसम्म खेल्ने गरिन्थ्यो । अहिले एउटा पिङ भेट्नको लागि धेरै गाँउ घुम्दा मात्र बल्लबल्ल देख्न पाइने स्थानीयको भनाइ छ ।
गाउँमा युवा पुस्ता नहुँदा र अन्य मनोरञ्जनका साधनले जित्दा पिङ लोप हुदै गएको खिन्द्र अधिकारी बताउनुहन्छ । उहाँका अनुसार पिङ दसैँको संस्कृति र मौलिकतासँग जोडिएको छ ।
कमेन्ट गर्नुहोस्