मुक्तिनाथ (मुस्ताङ) । दसैंअघि मुस्ताङको ७० प्रतिशतभन्दा बढी स्याउ बजारमा पुग्नुपर्ने भए पनि बाढीपहिरो र नदी कटानले बेनी–जोमसोम सडक अवरुद्ध हुँदा ३५ प्रतिशत मात्रै स्याउ निकासी भएको छ । बजारमा अत्यधिक माग रहेको मुस्ताङको स्याउ सडक अवरुद्ध हुँदा बोटमै थन्किएको थियो ।
सडक खुलेपछि किसानले ६ दिनदेखि स्याउ टिप्न थाले पनि समयमै बजार पु¥याउन कठिन भएको छ ।
गत बिहीबारदेखि सडक एकतर्फी सञ्चालनमा आएसँगै थासाङ, घरपझोङ र बारागुङ मुक्तिक्षेत्रका बगैँचामा स्याउ टिप्न सुरू गरिएको कृषि तथा पशु विकास कार्यालयले जनाएको छ ।
मुस्ताङमा कुल एक अर्ब १४ करोड रुपियाँको ८ हजार मेट्रिक टन स्याउ बिक्रीयोग्य रहेकोमा बिहीबारसम्म कार्यालयमा प्राप्त विवरणमा २ हजार ८ सय मेट्रि«क टन स्याउ निर्यात भएको कार्यालय प्रमुख डा. लालमणी अर्यालले बताउनुभयो ।
कार्यालय प्रमुख डा. अर्यालले भन्नुभयो, ‘‘दसैंअघिसम्म ५० प्रतिशत स्याउ बजारमा पुग्ने अनुमान छ, बगैंचाबाटै सिधै बजारमा पुगेको छ ।’’
डा.अर्यालका अनुसार गत वर्ष तिहार आसपासमा करिब २० प्रतिशत स्याउ जाने गरेकोमा यसपटक अफ सिजनमा पनि मुस्ताङको स्याउ बजारमा पाइने छ । मुस्ताङमा उत्पादित स्याउको बजार अभाव नभएकाले दसैँलगत्तै बजारमा जाँदा समेत कृषकलाई समस्या नभएको कार्यालय प्रमुख डा. अर्यालको भनाइ छ ।
मुस्ताङको चिसो हावापानीमा कात्तिक महिनासम्म स्याउको गुणस्तरमा कुनै असर नगर्ने भएकाले कृषकले व्यापारीलाई बगैंचामै बिक्री गर्ने गरेका छन् ।
घरपझोङ गाउँपालिका–५ ढुम्बाका कृषक कर्म गुरुङले गोदाममा रहेको स्याउ बजारमा गएको र बोटमा भएको टिप्नका लागि अझै दुई साता लाग्ने बताउनुभयो ।
मुस्ताङमै उच्च घनत्वको गाला, किङरोड जातको स्याउलाई बगैंचामै प्रति केजी २ सय १० रुपियाँ र स्थानीय प्रजातिको स्याउ १ सय ८० रुपियाँसम्म व्यापारीले खरिद गर्ने गरेका छन् ।
स्वादिलो र अर्गानिक स्याउका रूपमा पहिचान बनाएको मुस्ताङमा जात र गुणको आधारमा बजारमा पठाउने रेड डेलिसियस जातको स्याउ गत भदौ महिनाको १४ गते र स्थानीय जातको भदौ २२ गतेदेखि टिप्ने कार्यतालिका बनाए पनि दसैं कात्तिक महिनामा भएकाले तीज पर्वलाई लक्षित गरेर बिक्री गरेको बाहेक धेरै बोटमै राखेका थिए ।
जिल्लाका पाँच वटै स्थानीय तह, शीतोष्ण बागवानी विकास केन्द्र (मार्फा), प्रधानमन्त्री कृषि आधुनिकीरकण परियोजना, परियोजना कार्यान्वयन एकाइ स्याउ जोनको टोलीले स्याउ बारीको निरीक्षणको क्रममा स्याउको गुलियोमा कुनै कमी नभएको भेटिएकाले मागअनुसार बिक्री गर्न सुझाव दिइएको थियो ।
मुस्ताङमा स्थानीय स्याउ ८ सय ३० हेक्टर क्षेत्रफलमा स्याउ खेती भएकोमा ५६६ हेक्टर क्षेत्रफलमा लगाइएकोे बोटबाट ८ हजार मेट्रिक्टन स्याउ उत्पादन हुने लक्ष्य राखिएको छ । स्थानीय प्रजाति प्रति हेक्टर १०.७४ मेट्रिक्टन र उच्च घनत्व २६.१२ मेट्रिक्टन स्याउ उत्पादन हुन्छ ।
त्यसैगरी उच्च घनत्वको स्याउ खेती ६५ हेक्टर क्षेत्रफलमा फैलिएकोमा ८ हजार ४ सय ९६ मेट्रिक्टन स्याउ उत्पदान हुने अनुमान गरिएको छ ।
गत वर्ष मुस्ताङबाट स्थानीय प्रजातिको रोयल, रेड, रिचारेड र गोल्डेन स्याउ र फुजीमा ८ सय ३२ हेक्टर तथा उच्च घनत्वको (हाइब्रिड) ६० हेक्टरमा गरिएको स्याउ खेतीबाट स्थानीय प्रजातिको कुल ५ सय ८३ हेक्टर क्षेत्रफलबाट ७८ करोड ८९ लाख ७० हजार रुपियाँ र उच्च घनत्वमा ६० हेक्टरमा उत्पादन भएको ३१ करोड ३४ लाख रुपियाँ बराबरको स्याउ उत्पादन थियो ।
यस वर्ष सम्रगमा १ अर्ब १४ करोड रुपियाँको स्याउ बिक्री हुने अनुमान गरिएकोमा बिहीबारसम्म ३५ करोडको स्याउ बाहिरिएको छ ।
थासाङ, घरपझोङ, वारागुङ मुक्तिक्षेत्र गाउँपालिका स्याउ उत्पादन भएको स्याउ बिक्री गरिएपनि उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकाको बगैंचाको कात्तिको दोस्रो सातासम्म बजारमा जान्छ ।
रसिला र गुलिया, आकार ठुलो र धेरै दिनसम्म पनि ताजा रहने भएकोले बजार माग उच्च छ ।
कमेन्ट गर्नुहोस्