नेपालीको महान् चाड दसैँ सुरु भएसँगै बजारमा किनमेल गर्नेको चहलपहल सुरु भएको छ । दसैँमा नयाँ लुगा लगाउने र मिठो खाने प्रचलन छ । विशेष गरी काठमाडौँ उपत्यकाका नयाँ सडक, असन, इन्द्रचोक, भोटाहिटी, नयाँ बानेश्वर, भृकुटीमण्डप, कोटेश्वर, भाटभटेनीलगायतका व्यापारिक मलमा दसैँको चहलपहल बढेको छ । सडकपेटीदेखि ठुलठुला व्यापारिक मलसम्म किनमेल गर्नेको भिड बढे पनि कारोबार भने विगतका वर्ष जस्तो यसपालि नभएको व्यवसायीको भनाइ छ ।
अन्य सिजनको तुलनामा दसैँमा व्यापार बढी हुन्छ । व्यवसायीको वर्षभरि हुने व्यापार बराबर दसैँमा हुन्छ तर यस वर्ष भने बाढीपहिरोको कारण बजारमा विगतको जस्तो व्यापार हुन सकेन । न्युरोडका कपडा व्यापारी सावर अग्रवालका अनुसार यस वर्ष बजारमा माग कम हुँदा ५० देखि ६० प्रतिशतले कारोबार घटेको छ । बजारमा अधिकांश सामानको मूल्य बढेको र ग्राहकको क्रयशक्ति न्यून रहेकाले पनि बजारमा व्यापार भएन ।
गएको भदौ १० मा रसुवाको भोटेकोशी हिमबाढीको प्रलय आयो । यो अकल्पनीय त्रासदीमा धेरैको ज्यान गयो । खर्बौंको भौतिक क्षति भयो । देशका विभिन्न ठाउँमा बाढीपहिरो दसैँ सुरु हुँदासम्म गइरहेको थियो । यसले पनि दसैँको व्यापारलाई असर गरेको व्यापारीको धारणा छ ।
विगतका वर्षमा सडकपेटीदेखि ठुला व्यापारिक मलमा सामान किन्ने ग्राहकको भिडभाड लाग्थ्यो । यस वर्ष भने चहलपहल बढे पनि कारोबारमा उत्साह छैन । दसैँलक्षित चीनबाट ल्याइएका तीनदेखि चार सय कन्टेनर सामान बाढीले बगाएपछि बजारमा मूल्यसमेत बढेको छ । तिज र दसैँतिहारलक्षित उत्तरी नाका हुँदै चीनबाट व्यवसायीले सामान ल्याउने गर्छन् । यस वर्ष भने भोटेकोशीको बाढीले सामानसहित कन्टेनर बगाएपछि नयाँ सामान बजारमा छैन । पुरानै सामान र भारतबाट ल्याइएका सामान व्यवसायीले बिक्री गरिरहेका छन् ।
दसैँमा विशेष गरी कपडा, जुत्ता, खाद्यान्न, मोबाइल, घरायसी इलेक्ट्रोनिक्स सामानदेखि सुनचाँदीका पसलसम्म ग्राहकको भिड लाग्छ । सुनचाँदी पसलमा भने मूल्य बढेकाले ग्राहकको चहलपहल न्यून छ । दसैँका बेला सबैले नयाँ कपडा किन्ने हुँदा पनि बजारमा कारोबार बढ्छ । विभिन्न व्यापारिक मलले दसैँलक्षित विभिन्न किसिमका ‘अफर’ योजना सञ्चालन गरिरहेका छन् । ती अफर र सेलमा राखिएका सामानमा उपभोक्ता बढी झुम्मिएको देखिन्छ । केही व्यापारीले यस्तो मौका छोपेर कमसल, म्याद नाघेका सामान बिक्री गर्न सक्छन् । त्यसैले उपभोक्ता सचेत हुने बेला पनि हो, यो ।
दसैँले गाउँदेखि सहरसम्म आर्थिक गतिविधि चलायमान गराउँछ । अर्थतन्त्रमा वैदेशिक रोजगारीको ठुलो योगदान छ । विदेशमा रहेका नेपालीले पठाएको रकमको ठुलो हिस्सा दसैँतिहार जस्ता चाडपर्वमा उपभोगमा खर्च हुन्छ । साथै, वर्षभरि कमाएको आम्दानीमध्ये केही हिस्सा दसैँको समयमा खर्च हुन्छ । परिवारका सदस्यका लागि नयाँ कपडा, खाद्यान्न, मासु, उपहार, घरायसी सामग्री र यात्रामा हुने खर्चले बजारलाई थप चलायमान बनाउँछ ।
कर्मचारी वर्गले अतिरिक्त एक महिनाको दसैँखर्च पाउने भएकाले पनि उपभोक्ताले सामान किन्ने योजना यो बेला बनाउँछन् । हुनेले मात्र नभएर नहुनेले पनि ऋण गरेर भए पनि रमाइलो गरी दसैँ मनाउने परम्परा छ । चाडपर्वका बेला बजारमा लत्ताकपडासँगै खाद्यान्नको बिक्री पनि बढ्छ । चामल, दाल, तेल, मसला, तरकारी, फलफूल, मिठाई अन्य बेलाभन्दा दसैँमा बढी बिक्री हुन्छ ।
फस्टाउँदै डिजिटल व्यापार
दसैँको बजार परम्परागत ढाँचामा मात्र सीमित नभई डिजिटलतिर जान थालेको छ । सूचना प्रविधिको बढ्दो प्रयोगसँगै व्यापारको शैली पनि क्रमशः परिवर्तन हुन थालेको हो । सामाजिक सञ्जालको तीव्र विस्तारसँगै किनमेलको शैली पनि परिवर्तन भएको छ । टिकटक, फेसबुक जस्ता डिजिटल अनलाइन प्लेटफर्ममार्फत सामानको प्रचार गर्ने, मूल्य र डिजाइन देखाउने तथा अनलाइनबाटै अर्डर लिने ग्राहकको सङ्ख्या बढ्दो छ । कतिपय ग्राहक पसलमा पुग्नुअघि नै मोबाइलबाट आफूलाई आवश्यक सामानको मूल्य र गुणस्तरबारे जानकारी लिने र अनलाइनबाट अर्डर गरेर खरिद गर्ने प्रवृत्ति छ ।
कपडा, जुत्ता, कस्मेटिक्स, खाद्यान्नका परिकारलगायत घरायसी सामानको अनलाइन कारोबार फस्टाउँदै छ । अनलाइनबाट सामान अर्डर गर्नेबित्तिकै तत्काल घरमै सामान उपलब्ध हुने भएकाले पनि धेरै ग्राहक यसतर्फ आकर्षित भएका छन् । स्वदेश मात्र नभएर विदेशबाट समेत ग्राहकले आफूलाई आवश्यक पर्ने सामान अनलाइनबाटै अर्डर गर्ने गरेका छन् ।
इन्टरनेटको विस्तार, सुलभ मूल्यका स्मार्टफोन र क्युआर कोडसहितका डिजिटल भुक्तानी प्रणाली इसेवा, खल्ती, फोनपे आदिको व्यापक प्रयोगले डिजिटल व्यापारलाई तीव्र रूपमा अगाडि बढाएको छ । विशेष गरी कोभिड–१९ महामारीका बेला सुरु भएको अनलाइन किनमेलको अभ्यास अहिले तीव्र रूपमा विस्तार हुँदै छ । यसले बजारसम्म पुग्ने समय र श्रमको बचत गर्नुका साथै युवाका लागि डेलिभरी, सफ्टवेयर निर्माण, प्याकेजिङ र डिजिटल मार्केटिङका क्षेत्रमा नयाँ रोजगारीका अवसर पनि सिर्जना गरेको छ ।
दसैँका खसीबोका र च्याङ्ग्रा
दसैँ लक्षित उपत्यकामा खसीबोका घटस्थापनाको दिनदेखि भित्रिन थल्छ । दसैँ मासु खाने चाड भएकाले यो बेला खसीबोकोको खपत धेरै हुने गर्छ । विगतका वर्ष दसैँमा उपत्यकामा ५० हजारदेखि ५५ हजार वटा खसीबोका खपत हुने गरेकोमा यस वर्ष घट्ने व्यवसायीले अनुमान गरेका छन् । यसपालि ४० हजार वटा खसीबोका काठमाडौँ उपत्यका भित्रिने अनुमान छ । यस्तै तीन हजारदेखि चार हजार च्याङ्ग्रा खपत हुने अनुमान छ । बाढीपहिरोका कारण खसीबोका ल्याउन कठिन भएको र मूल्य बढेका कारण कम खपत हुने व्यवसायीले अनुमान गरेका छन् । व्यवसायीले गाउँ गाउँमा गएर खसीबोका खरिद गरी उपत्यका ल्याउने गर्छन् ।
चौपाया खरिदबिक्री सङ्घका अनुसार यसपालि बजारमा खसीबोकोको मूल्यसमेत बढेको छ । एक वर्षको अवधिमा बजारमा प्रतिकेजी जिउँदो खसीबोकाको मूल्य दुई सय रुपियाँले बढेको छ । यस्तै च्याङ्ग्राको मूल्य पनि बढेको छ । सङ्घका अनुसार गत वर्ष जिउँदो खसी प्रतिकेजी छ सयदेखि ६५० रुपियाँ रहेकोमा यस वर्ष बढेर आठ सयदेखि ८५० रुपियाँ पुगेको छ । मूल्य बढ्दा खपतसमेत घट्ने गर्छ । यस्तै च्याङ्ग्रा प्रतिकेजी एक हजार ३५० रुपियाँ रहेको छ । गत वर्ष प्रतिकेजी एक हजार एक सयदेखि एक हजार दुई सय रुपियाँ च्याङ्ग्राको मूल्य रहेको थियो । उपत्यकामा मात्र नभएर मुलुकका सबै बजारमा खसीबोकाको माग दसैँमा उच्च हुन्छ ।
सिङमा हरियो स्टिकर
दसैँमा अस्वस्थ्यकर खसीबोका, च्याङ्ग्रा र राँगाभैँसी भित्रिन सक्ने हुँदा उपत्यकाका १० स्थानमा पशुको स्वास्थ्य परीक्षण गरियो । पशुसेवा विभागले बिक्री हुने १० स्थानका मुख्य बजारमा स्वास्थ्य परीक्षण गरी खानयोग्य खसीको कानमा हरियो स्टिकर लगाएको र खान अयोग्यको कानमा रातो स्टिकर लगाएको छ । विभागका अनुसार खसीबोका भित्रिने कलङ्की खसीबजार, थापालेख र चापागाउँ खसीबजार, टुकुचा खसीबजार र खाद्य कम्पनी थापाथलीमा स्वास्थ्य परीक्षण गरिएको हो । यस्तै टोखा, कपन, सुकेधारा, लोकन्थली बजार, सल्लाघारी च्याङ्ग्रा बजार, चोभार, चाल्नाखेल राँगा बजार, चन्द्रागिरि, बलाजु बाइपास र बल्खु कालीमाटी माछा बजारमा बिहान ७ देखि ११ बजे र दिउँसो ३ देखि ५ बजेसम्म खसीबोकाको परीक्षण गरिएको छ । घटस्थापनाको दिनदेखि नवमीको दिनसम्म पशुको परीक्षण गरिन्छ ।
यसैबिच खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दसैँका बेला खसीबोका र च्याङ्ग्रा नबेच्ने भएको छ । चाडपर्वका बेला बजारमा खसीबोकाको खपत धेरै हुने हुँदा निजी व्यवसायीले मनपरी मूल्य लिने हुँदा बजार मूल्य नियन्त्रण गर्न कम्पनीले खसीबोका र च्याङ्ग्रा बिक्री गर्दै आएको थियो । यस वर्ष कम्पनीले बिक्री नगरेपछि व्यवसायीले मनपरी मूल्य लिई खसीबोका बिक्री गर्न सक्छन् । यसको मार उपभोक्तालाई नै पर्छ । कम्पनीले बजार मूल्यभन्दा प्रतिकेजी १० रुपियाँ छुट दिएर खसीबोका र च्याङ्ग्रा बिक्री गर्ने गरेको थियो । सडकमा बेला बेलामा हुने अवरोधले खसीबोकाका तौल घट्ने र मर्नेसमेत जोखिम देखिएको र खरिदमा निरन्तर घाटा लागेको भन्दै खाद्य कम्पनीले यसपालि खसीबोका र च्याङ्ग्रा बिक्री नगर्ने जनाएको छ ।
एटिएममा सयका नयाँ नोट
प्रत्येक वर्ष नेपाल राष्ट्र बैङ्कले दसैँमा नयाँ नोट साट्ने व्यवस्था गथ्र्यो तर पछिल्ला तीन वर्षदेखि सो व्यवस्था हटाइएको छ । असोज १ देखि राष्ट्र बैङ्कको थापाथली, राष्ट्र बैङ्कका प्रादेशिक कार्यालय र वाणिज्य बैङ्कबाट नयाँ नोटको सट्टा सुकिला र सफा नोट दिने काम भइरहेको छ ।
नेपाल राष्ट्र बैङ्कले यसपालिको दसैँलगायत चाडपर्वलक्षित बैङ्क तथा वित्तीय संस्थालाई ‘एटिएम मेसिन’ बाटै सय रुपियाँका नयाँ नोट उपलब्ध गराउन निर्देशन जारी गरेको छ । बैङ्कको निर्देशनसँगै केही बैङ्क तथा वित्तीय संस्थाले एटिएम मेसिनबाट एक सय रुपियाँका नयाँ नोट वितरण गर्न थालेका छन् ।
कमेन्ट गर्नुहोस्