सल्यान, असोज ३१ गते । दसैँको रौनक बढ्दै जाँदा सल्यानका किसानलाई भने खेतमा पाकेको धान भित्र्याउने चटारो छ । वर्षाले बालीमा क्षति पुर्याउने जोखिम र जङ्गली जनावरको त्रासका कारण किसान दसैँको तयारीभन्दा धान काट्ने, झाँट्ने र थन्क्याउने काममा व्यस्त छन् ।
मौसम खुलेको मौका छोप्दै किसान परिवारका सदस्यसहित खेतमा खटिएका छन् । कतिपयले धान काट्न र झाँट्न मेसिनको प्रयोग गरेका छन् भने धेरै खेत भएका किसानले मजदुर लगाएर बाली भित्र्याइरहेका छन् । पाकेको धान समयमै सुरक्षित गर्नुपर्ने भएकाले चाडपर्वको रमझमभन्दा खेतीपातीलाई प्राथमिकता दिनुपरेको किसान बताउँछन् ।
त्रिवेणी गाउँपालिका–१ का किसान रुद्र बस्नेत आठ रोपनीभन्दा बढी खेतमा लगाएको धान भित्र्याउन परिवारसहित खटिनुभएको छ । खेतीपातीबाटै वर्षभरि परिवारको गुजारा चलाउनुपर्ने भएकाले पाकेको बाली समयमै भित्र्याउनुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो ।
“दसैँ त प्रत्येक वर्ष आउँछ, तर पाकेको बालीमा वर्षाले क्षति पुर्यायो भने परिवार पाल्नै गाह्रो हुन्छ । त्यसैले दसैँका कामकाजलाई थाती राखेर खेतमा पाकेको धान भित्र्याउन लागेका हौँ,” बस्नेतले भन्नुभयो ।
छत्रेश्वरी गाउँपालिकाकी प्रमीला बुढाथोकी पनि दसैँको तयारी छाडेर धान भित्र्याउन व्यस्त हुनुहुन्छ । दसैँको टीकाअघि नै खेतको काम सक्ने योजना रहेको उहाँले बताउनुभयो । पाकेको धान समयमै भित्र्याउन सके वर्षाको चिन्ता हट्नुका साथै हिउँदे बाली लगाउन पनि सहज हुने उहाँको भनाइ छ ।
“पाकेको धानबाली समयमै भित्र्याउन पाए आनन्द हुन्छ । पानी परेर क्षति पुर्याउने हो कि भन्ने डर पनि हुँदैन । धान भित्र्याएपछि हिउँदे बाली लगाउन पनि सहज हुन्छ,” बुढाथोकीले भन्नुभयो ।
शारदा नगरपालिका–९ का किसान हर्क बुढालाई दुई वर्षअघिको अनुभवले पनि यस वर्ष धान भित्र्याउन हतार गराएको छ । त्यतिबेला दसैँ मनाएर बाली भित्र्याउने योजना बनाएका उहाँको खेतमा एक सातासम्म परेको वर्षाले पाकेको धान नष्ट गरेको थियो । त्यही अनुभवका कारण यस वर्ष चाडपर्वभन्दा बाली भित्र्याउन प्राथमिकता दिएको उहाँले बताउनुभयो ।
“दसैँ आउँछ, जान्छ । हामी खेतीकिसानी गरेर जीविकोपार्जन गर्ने मानिसका लागि काम ठूलो कुरा हो । घरमा जे छ, त्यसैमा सीमित रहेर पर्व मनाउनुपर्छ । पाकेको धान नष्ट भयो भने परिवार पाल्न समस्या हुन्छ,” बुढाले भन्नुभयो ।
वर्षाको जोखिमसँगै जङ्गली जनावरबाट हुने क्षति पनि सल्यानका किसानका लागि चुनौती बनेको छ । कालीमाटी गाउँपालिका–१ का दुर्गा बस्नेतका अनुसार बँदेल, बाँदर, हरिण र दुम्सीले हरेक वर्ष खेतबारीमा लगाएको बाली नष्ट गर्ने गरेका छन् । पाकेको बाली समयमै नभित्र्याए जङ्गली जनावरले नोक्सान पुर्याउने डरले किसानलाई छिटोछिटो काम गर्नुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो ।
बाली नष्ट हुँदा परिवारको जीविकोपार्जनमा समस्या पर्ने र मजदुरी गरेर गुजारा चलाउनुपर्ने अवस्था आउने भएकाले किसान पाकेको धान सुरक्षित रूपमा भित्र्याउन लागिपरेका छन् ।
सल्यानका किसानका लागि दसैँ खुसी र उत्सवको पर्व भए पनि वर्षभरि खाने अन्न सुरक्षित गर्नु पहिलो प्राथमिकता बनेको छ । चाडपर्वको रमझममा रमाउनुअघि पाकेको बाली भित्र्याउनुपर्ने बाध्यताले यस वर्ष धेरै किसानको दसैँ खेतबारीमै बितिरहेको छ ।
कमेन्ट गर्नुहोस्