दाङ, असोज ३१ गते । देशभर दसैँको रौनक छाएको छ । रोजगारीको सिलसिलामा गाउँबाट सहर, जिल्ला बाहिर र विदेश पुगेका नेपाली घर फर्किन थालेका छन् ।
गाउँघरमा दसैँको चहलपहल बढेको छ । कतै घर लिपपोत र सरसफाइ भइरहेको छ, कतै दसैँको सख्या नाचले गाउँबस्ती गुञ्जायमान बनेका छन् । तर, घोराही उपमहानगरपालिका –१६ स्यानी अम्बापुरस्थित मुक्त कमैया बस्तीमा भने दसैँको उत्साह देखिँदैन ।
बस्ती वरिपरिका गाउँमा दसैँको चहलपहल बढिरहँदा यहाँका बासिन्दाको दैनिकी भने बिहानदेखि बेलुकासम्म मजदुरीमै बित्ने गरेको छ । उनीहरूका लागि दसैँको खुसीभन्दा बिहान–बेलुका चुलो बाल्ने र परिवारको गुजारा चलाउने चिन्ता ठुलो छ ।
सोही बस्तीकी निता चौधरीलाई पनि दसैँ आएको खासै अनुभूति भएको छैन । दैनिक मजदुरी गरेर परिवार पाल्दै आउनुभएकी उहाँलाई चाडपर्व मनाउने रहर भए पनि आर्थिक अभावले त्यो रहर पूरा गर्न कठिन छ । उहाँले भन्नुभयो “हामीलाई साँझ बिहानको छाक टार्नै समस्या छ । मजदुरी गर्न नगए चुलो बल्दैन । यस्तो अवस्थामा दसैँ कसरी मनाउनु ? हामीलाई दसैँ आएको कुनै महसुस हुँदैन ।”
मजदुरीबाट हुने आम्दानीले छोराछोरीको पढाइ खर्च धान्न समेत कठिन भएपछि उहाँका श्रीमान् बाधु चौधरी डेढ वर्षअघि वैदेशिक रोजगारीमा जानुभएको छ । उहाँले भन्नुभयो “श्रीमान् पनि आउनु भएन । माघीमा आउँछु भन्नुभएको छ । सायद माघीमा आउनुहुन्छ कि ।”
सोही बस्तीका मदनबहादुर चौधरीको अनुभव पनि उस्तै छ । उहाँका लागि चाडपर्वको खुसीभन्दा काम पाउनु र परिवारको छाक टार्न सक्नु महत्त्वपूर्ण बनेको छ । उहाँले भन्नभयो “हामीलाई चाडपर्वको त्यति ध्यान जाँदैन । कहाँ काम पाइन्छ र साँझ बिहानको छाक टार्न सहज हुन्छ भन्ने चिन्ता हुन्छ । चाडपर्व मनाउने रहर कसलाई हुँदैन र ? रहर भएर पनि भएन, गुजारा चलाउनु छ ।”
डेढ वर्षअघि घोराहीस्थित नेपाल विद्युत् प्राधिकरणको कार्यालयमा सहयोगीका रूपमा काम पाउनुभएका मदनबहादुरको रोजगारी एक महिनाअघि छुट्यो । त्यसपछि उहाँ फेरि दैनिक ज्यालादारीमा फर्किनुभएको छ । अहिले उहाँको दैनिकी कामको खोजीमा बित्ने गरेको छ ।
दसैँको रौनकबाट टाढा रहेको यो बस्तीका परिवारको समस्या दैनिक मजदुरीमा मात्रै सीमित छैन । जग्गाको स्वामित्व र स्थायी बसोबासको विषय पनि उनीहरूका लागि उत्तिकै महत्त्वपूर्ण छ । सोही टोलकी अध्यक्ष सबिता चौधरीका अनुसार मुक्त कमैयाहरू २०६१ सालदेखि उक्त बस्तीमा बस्न थालेका हुन् । उहाँका अनुसार घोराहीस्थित यस कमैया बस्तीमा ५२ मुक्त कमैया परिवार बसोबास गर्छन् ।
हालसम्म आठ परिवारले मात्रै जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) पाएका छन् । मुक्त कमैया समाज दाङका अध्यक्ष हरिशचन्द्र चौधरीका अनुसार जिल्लामा तीन हजार ३८५ मुक्त कमैया परिवार सरकारी लगतबाट छुटेका छन्।
कमेन्ट गर्नुहोस्