खजुरा (बाँके), कात्तिक ७ गते । पहाडको एउटा पुरानो घर छ । घरको छानो खरले छाइएको छ । समयले छानोलाई पुरानो बनाएको छ भने घरवरिपरि उम्रिएको झाडीले बदलिँदो जीवनशैलीको कथा सुनाइरहेको छ । नजिकै अर्को घर छ, जसको छानो ढुङ्गाले छाइएको छ । यी दुई घरका छाना फरक छन्, तर दुवैले नेपाली पहाडी समाजले पुस्तौँदेखि भोग्दै आएको परिवर्तनको कथा बोकेका छन् ।
तीन–चार पुस्ताअघि पहाडका गाउँमा खरको छानो सामान्य थियो । स्थानीय खर, काठ र माटो घर निर्माणका प्रमुख आधार थिए । सडक र बजारको पहुँच सहज नभएकाले घर बनाउँदा स्थानीय स्रोतसाधन र परम्परागत सीपमै भर पर्नुपर्थ्यो ।
घरको छानो छाउनु निर्माणको काम मात्र नभएर सामुदायिक सहकार्यको अभ्यास पनि थियो । खर काट्ने, सुकाउने, बोक्ने र छानो छाउने काममा परिवारका सदस्यसँगै छिमेकीले सहयोग गर्थे । गाउँको जीवन प्रकृति र परम्परासँग नजिक थियो । खरको छानोले त्यतिबेलाको ग्रामीण जीवनशैलीसमेत झल्काउँथ्यो ।

समयसँगै खरका छाना भएका घरमा ढुङ्गाको छानो देखिन थाल्यो । स्थानीय ढुङ्गा प्रयोग गरेर छानो छाउने चलन बढ्यो । खरको तुलनामा टिकाउ मानिने ढुङ्गाको छानो बनाउन श्रम, सीप र समय आवश्यक पथ्र्यो । त्यसैले सुरुमा सबै परिवारको पहुँचमा यस्तो छानो थिएन ।
त्यसपछि अर्को पुस्ता आयो । गाउँमा सडक विस्तार भयो । बजारसँगको सम्पर्क बढ्यो र निर्माण सामग्री ओसारपसार गर्न सहज भयो । जस्तापाताको प्रयोग बढेसँगै खर र ढुङ्गाले छाएका घरका छाना क्रमशः टिनले विस्थापित गर्न थाले ।
प्युठानको मल्लरानी गाउँपालिका–२ का स्थानीय तथा स्वास्थ्यकर्मी रेशम भुसालले आफ्नै जीवनकालमा यो परिवर्तन नजिकबाट देख्नुभएको छ । उहाँका अनुसार आफू सानो हुँदा गाउँका प्रायः सबै घरमा खरको छानो थियो । बुवाको पुस्तामा खर हटाएर ढुङ्गाको छानो छाउने चलन बढ्यो । आफ्नो पुस्तामा आइपुग्दा अधिकांश घरमा टिनको छानो लागिसकेको थियो ।
“हामी सानो हुँदा बाजेका पालामा सबै घरमा खरका छाना हुन्थे । हाम्रो बाको पालामा खर हटाएर ढुङ्गाले छानो छाउने चलन चल्यो । हाम्रो पालामा लगभग सबै घरको छानो टिनले छाएको छ । हामीभन्दा पछिल्लो पुस्ताले त बसाइँसराइ नै गरिसक्यो,” भुसाल भन्नुहुन्छ ।
उहाँका अनुसार अहिले गाउँमै रहेका केही परिवारले टिनका छाना हटाएर सिमेन्टको प्लास्टरसहितका आधुनिक घर बनाउन थालेका छन् । यो परिवर्तन आर्थिक अवस्था, पूर्वाधारको विकास र जीवनशैलीमा आएको बदलावसँग जोडिएको उहाँको बुझाइ छ ।
छाना फेरिँदा फेरियो जीवनशैली
खर, ढुङ्गा र टिनका छानाबिचको अन्तर निर्माण सामग्रीको परिवर्तनमा मात्र सीमित नभएर यसले गाउँको अर्थतन्त्र, श्रम सम्बन्ध, प्राकृतिक स्रोतको उपयोग र मानिसका आकाङ्क्षामा आएको बदलाव पनि देखाउँछ ।
पहिले घर निर्माण स्थानीय स्रोत र सामूहिक श्रममा आधारित थियो । अहिले बजारबाट सामग्री किनेर घर बनाउने चलन बढेको छ । घर निर्माण यातायात, नगद आम्दानी र आर्थिक क्षमतासँग जोडिएको छ । छानाले परिवारको आर्थिक अवस्था र उपलब्ध सुविधासमेत प्रतिविम्बित गर्न थालेको छ ।
राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालका कुल आवासीय घरमध्ये जस्तापाताको छानो भएका घर ४१.९ प्रतिशत र आरसिसी छानो भएका घर ३७.८ प्रतिशत थिए । २०६८ को जनगणनामा यी अनुपात क्रमशः २८.३ र २२.५ प्रतिशत थिए । यस अवधिमा खर वा परालको छानो भएका घरको हिस्सा १९ प्रतिशतबाट घटेर ३.९ प्रतिशतमा झरेको थियो । ढुङ्गा वा स्लेटको छानो भएका घर ६.१ प्रतिशत थिए । यी राष्ट्रिय तथ्याङ्कले आवास निर्माण सामग्रीमा आएको परिवर्तन देखाउँछन् ।
घर बने, गाउँ रित्तिँदै
छानामा आएको परिवर्तनसँगै पहाडी गाउँको अर्को यथार्थ जोडिएको छ—बसाइँसराइ । गाउँमा सडक, विद्यालय र बिजुली पुगेपनि उच्च शिक्षा, रोजगारी र सुविधायुक्त जीवनको खोजीमा युवा पुस्ता सहर तथा विदेशतर्फ जान थालेको छ ।
बाहिर रोजगारी गर्ने परिवारका सदस्यले पठाएको रकमबाट गाउँमा नयाँ घर बनेका छन् । कतिपय पुराना घरका छाना फेरिएका छन् भने कतिपय ठाउँमा पुराना घर छाडेर नयाँ घर निर्माण भएका छन् । तर घरको स्वरूपमा आएको सुधारले गाउँमा मानिसको उपस्थिति बढेको भने देखिँदैन् ।
यसले घरहरू आधुनिक बन्दै गर्दा गाउँको सामाजिक जीवन कति जीवित छ ? भन्ने प्रश्न उठाएको छ । नयाँ छाना र पक्की घरले आर्थिक प्रगति देखाउन सक्छन् । तर खेती गर्ने युवा, विद्यालय जाने बालबालिका, परम्परागत सीप जान्ने कारिगर र सामुदायिक गतिविधिमा सहभागी हुने मानिसको सङ्ख्या घट्दै गएको छ भने त्यो परिवर्तनको अर्को पाटो हो ।
विकाससँगै संरक्षणको प्रश्न
खरको छानो अहिले दुर्लभ बन्दै गएको छ । ढुङ्गे छाना भएका पुराना घर पनि क्रमशः हराउँदै छन् । सुरक्षित र सुविधायुक्त आवास निर्माण गर्नु आवश्यक भए पनि परम्परागत घर निर्माण शैली तथा स्थानीय वास्तुकलाको संरक्षणबारे सोच्नुपर्ने देखिन्छ ।
भुसालका अनुसार सबै पुराना घर जोगाउन सम्भव नहुन सक्छ । जीर्ण र असुरक्षित घरलाई आधुनिक बनाउनु आवश्यक छ । तर सांस्कृतिक वा वास्तुकलाका दृष्टिले महत्वपूर्ण घर पहिचान गरेर संरक्षण गर्न सकिन्छ । स्थानीय सीप, परम्परागत छानो छाउने विधि र त्यससँग जोडिएका सामुदायिक अभ्यासको अभिलेख राख्न सके भावी पुस्ताले आफ्नो गाउँको इतिहास बुझ्ने अवसर पाउनेछन् ।
खरको छानोबाट ढुङ्गा, ढुङ्गाबाट टिन र टिनबाट सिमेन्टको छानासम्म आइपुग्दा पहाडी गाउँले लामो यात्रा तय गरेको छ । यस यात्रामा विकासका अवसर र जीवन सहज बनाउने उपलब्धि छन् । तर परम्परागत सीप, स्थानीय स्रोतको महत्व र गाउँको सामाजिक सम्बन्ध हराउँदै जाने जोखिम पनि रहेको भुसालको भनाइ छ ।
उहाँका अनुसार छाना फेरिनु समयको स्वाभाविक परिवर्तन हो । तर ती छानामुनि बस्ने मानिस, उनीहरूको सम्बन्ध र गाउँसँगको अपनत्वसमेत हराउँदै जानु चिन्ताको विषय हो । पुराना छानाले विगतको जीवनशैली सम्झाउँछन् भने नयाँ छानाले बदलिँदो आकाङ्क्षा देखाउँछन् । विकाससँगै गाउँको पहिचान र सामाजिक जीवन जोगाउनु नै यो पुस्तान्तरणको मुख्य चुनौती हो ।
कमेन्ट गर्नुहोस्