काठमाडौँ, कात्तिक १४ गते । नेपालले आठ हजार मिटरभन्दा अग्ला थप छ वटा हिमाललाई छुट्टै हिमालका रूपमा अन्तर्राष्ट्रिय मान्यता दिलाउन औपचारिक प्रस्ताव अघि सारेको छ ।
काठमाडौँमा बिहीबारदेखि सुरु भएको अन्तर्राष्ट्रिय पर्वतारोहण तथा आरोहण महासङ्घ (युआइएए) को साधारण सभामा सरकार र नेपाल पर्वतारोहण सङ्घ (एनएमए) का तर्फबाट उक्त प्रस्ताव अघि सारिएको हो ।
पर्वतारोहण क्षेत्रमा सक्रिय पाँच महादेशका ४५ देशका प्रतिनिधि सहभागी साधारण सभामा नेपालले उक्त हिमालको भौगोलिक, वैज्ञानिक र पर्वतारोहणसम्बन्धी आधारमा छुट्टाछुट्टै हिमालका रूपमा अन्तर्राष्ट्रिय मान्यता दिन प्रस्ताव अघि सारेको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री खडकराज पौडेलका अनुसार नेपालले यालुङ काङ, कञ्चनजङ्घा दक्षिण, कञ्चनजङ्घा मध्य, ल्होत्से मध्य, ल्होत्से सार र यालुङ काङ पश्चिमलाई छुट्टै आठ हजार मिटरभन्दा अग्ला हिमालका रूपमा अन्तर्राष्ट्रिय मान्यता दिन प्रस्ताव गरिएको हो ।
उहाँले भन्नुभयो, “नेपालले अघि सारेको प्रस्ताव केवल हिमालको सङ्ख्या थप्ने मात्र नभई हाम्रो हिमाली भूगोल, प्राकृतिक सम्पदा र पर्वतीय पहिचानलाई अन्तर्राष्ट्रिय समुदायसमक्ष तथ्य, अध्ययन र वैज्ञानिक आधारसहित स्थापित गर्ने प्रयास पनि हो ।” उहाँले भन्नुभयो, “यसले नेपाललाई विश्वका सर्वोच्च हिमालको प्रमुख केन्द्रका रूपमा थप स्थापित गर्नुका साथै पर्वतारोहण, साहसिक पर्यटन, अनुसन्धान, हिमाली अर्थतन्त्र र अन्तर्राष्ट्रिय पर्यटन प्रवर्धनका नयाँ सम्भावना खोल्ने छ ।”
जलवायु परिवर्तनको चुनौतीका बिच हिमालको संरक्षण, पर्वतीय समुदायको जीवनयापन र हिमाली पर्यावरणको विश्वव्यापी महत्वबारे अन्तर्राष्ट्रिय बहस अघि बढाउनु पनि उत्तिकै आवश्यक रहेको उहाँको भनाइ छ । युआइएएका अध्यक्ष पिटर मुइरले नेपालमा हालै भएका प्राकृतिक विपत्ले जलवायु परिवर्तनको गम्भीरता स्मरण गराएको बताउनुभयो ।
एनएमएका अध्यक्ष फुरजेल्जे शेर्पाले हरेक हिमशिखरको आफ्नै नाम, भौगोलिक पहिचान र छुट्टाछुट्टै आरोहण मार्ग रहेकाले तिनलाई स्वतन्त्र हिमालका रूपमा मूल्याङ्कन गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले आठ हजार मिटरभन्दा माथिका हिमशिखर आरोहण गर्न असाधारण शारीरिक क्षमता, प्राविधिक दक्षता, अनुभव र विशेष तयारी आवश्यक पर्ने बताउनुभयो ।
नेपालका थप छ वटा हिमाललाई अन्तर्राष्ट्रिय मान्यता दिनु मात्रै उद्देश्य नभएको स्पष्ट पार्दै उहाँले हिमालको वर्गीकरणका लागि स्पष्ट, वैज्ञानिक र अन्तर्राष्ट्रिय रूपमा उपयोगी मापदण्ड विकास गर्न नेपालले नेतृत्व गर्नुपर्ने धारणा राख्नुभयो ।
नेपालले यसअघि नै उक्त छ वटा हिमाललाई आफ्नो आधिकारिक सूचीमा समावेश गरिसकेको भए पनि अन्तर्राष्ट्रिय पर्वतारोहण समुदायले भने विश्वका अग्ला १४ वटा हिमालमध्ये नेपालका आठ वटा हिमाललाई मात्रै मान्यता दिँदै आएको छ । यी छ वटा हिमालले अन्तर्राष्ट्रिय मान्यता पाएमा विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको सङ्ख्या २० पुग्ने छ । तीमध्ये नेपालका मात्रै १४ वटा पुग्ने छन् ।
प्रस्तावित हिमालमध्ये यालुङ काङ ८,५०५ मिटर, कञ्चनजङ्घा दक्षिण ८,४७६ मिटर, कञ्चनजङ्घा मध्य ८,४७३ मिटर, ल्होत्से मध्य ८,४१० मिटर, ल्होत्से सार ८,४०० मिटर र यालुङ काङ पश्चिम ८,०७७ मिटर अग्ला छन् ।
कमेन्ट गर्नुहोस्