सुनसरी, कात्तिक २३ गते । तिहारमा घर, पसलदेखि दाजुभाइलाई लगाउन र सजाउन प्रयोग हुने सयपत्री फूलको माग बढेसँगै सुनसरीमा यस वर्ष पन्ध्र करोड रुपियाँभन्दा बढीको कारोबार भएको छ ।
धरान कृषिउपज बजारस्थलका प्रबन्धक लक्ष्मण भट्टराईका अनुसार यस वर्ष सुनसरीमा मात्रै पन्ध्र करोड रुपियाँभन्दा बढीको फूल कारोबार भएको उहाँले बताउनुभयो । तिहारको समय धरान, इटहरी, इनरुवा, दुहबी र झुम्का लगायतका सहरी क्षेत्रमा फूलको माग बढी हुनेगरेको उहाँले बताउनुभयो ।
विशेषगरी सहर तथा बजार केन्द्रित क्षेत्रमा घर, पसल, सवारीसाधन सजावटका लागि सयपत्री फूलको खपत बढी हुनेगरेको छ । गाउँको तुलनामा सहरमा फूलको व्यापार बढी हुने भएकाले गाउँबाट समेत किसान तथा व्यापारीले फूल बिक्रीका लागि बजार ल्याउने गरेका छन् ।
यस वर्ष तिहार केही ढिलो परेको र सयपत्री फूल फुल्ने मौसम पनि पर्वसँगै मिलेकाले स्थानीय उत्पादनले बजार पाएको व्यवस्थापक भट्टराईले बताउनुभयो । सरकारले यस वर्ष आयातित फूलको प्रवेशमा कडाइ गरेपछि नेपाली उत्पादनले बजार पाएको उहाँको भनाइ छ ।
घरका करेसाबारी, खेतबारी, गमला तथा छतमा लगाइएका सयपत्री फूलसमेत यस वर्ष राम्रोसँग फुलेकाले बजारमा माग अनुसारको फूलको उपलब्धता बढेको बताइएको छ ।
सुनसरीका विभिन्न गाउँमा उत्पादन भएका फूल स्थानीय बजारमा बिक्री हुने गरेका छन भने धरान, इटहरी लगायतका सहरी क्षेत्रमा बिक्रीका लागि किसान तथा व्यापारीले फूल ल्याउने गरेको बताइएको छ ।
पूर्वी पहाडी जिल्लाका किसानले उत्पादन गरेका फूलसमेत बिक्रीका लागि सुनसरीका बजारमा आउने गरेको धरान कृषिउपज बजार स्थलका अधिकारीको भनाइ छ । यस वर्ष अनुकूल मौसम, स्थानीय उत्पादन र आयातमा गरिएको कडाइले नेपाली सयपत्री फूलको कारोबार बढेको किसान अर्जुन विष्टले बताउनुभयो ।
कमेन्ट गर्नुहोस्