भाइबहिनीहरू, नेवार समुदायले फरक तरिकाले दसैँ–तिहार मनाउने गर्छन् । नेवार समुदायले दसैँलाई ‘मोहनी नखः’ का रूपमा मनाउँछन् । दसैँका बेला रातो टीका, जमरासँगै नेवार समुदायले सानो कालो टीका पनि लगाउँछन् । त्यो टीकालाई ‘मोहनी सिन्हा’ भनिन्छ । नेवारी भाषामा नखः भन्नाले चाड वा उत्सव भन्ने बुझिन्छ । त्यसैले दसैँलाई नेवार समुदायले ‘मोहनी नखः’ भन्छन् । दसैँको नवमीको दिन ‘मोहनी सिन्हा’ बनाउने विधि सुरु हुन्छ । जमरा राखिएको ठाउँमा दियो बालिन्छ । त्यसमाथि नेवारी भाषामा सली भनिने माटोको सानो प्याला घोप्ट्याएर राखिन्छ । दियोको कालो धुँवा त्यही घोप्ट्याइएको प्यालामा लाग्छ । जसलाई टीकाको दिन निकालिन्छ । त्यसमा तेल मिसाएर कालो टीका अर्थात् मोहनी सिन्हा तयार पारिन्छ ।
दसैँको अष्टमीको दिन नेवार समुदायमा कुछि भ्वय् खाने चलन छ । कुछि भन्नाले ‘दुई माना’ भन्ने अर्थ लाग्छ । परिवारका सदस्यहरू ज्येष्ठताका आधारमा लहरै बसेर केराको पातमा भोज खान्छन् । भोजमा चिउरा, गेडागुडी, मासुका परिकार, तरकारी, अचार राखिएको हुन्छ । यसै भोजलाई ‘कुछि भ्वय्’ भनिन्छ ।
महानवमीमा घरमा प्रयोग गरिने साना औजार र मेसिन धोइपखाली गरी जमरा राखिएको स्थानमा राखी पूजा गरिन्छ । तरबार, ढक, तराजु, माना, पाथी, कुटो, कोदाली, किताब, कलमलगायतका सामग्री पनि राख्ने चलन हुन्छ । यसै दिन गाडी, मोटरसाइकलको पनि पूजा गरिन्छ ।
दसैँको दिन घरको जेठो सदस्यले सबैलाई टीका, जमरासँगै ‘मोहनी सिन्हा’ लगाइदिन्छन् । टीका लगाएपछि नेवारी समाजमा चिउरा, भट्मास, अन्डा राखेर समय्बजी खुवाउने चलन छ ।
नेवारी समाजमा तिहारलाई ‘किजापुजा’ भनिन्छ । यसको अर्थ भाइपूजा नै हो । नेवार समुदायमा म्हपूजाको विशिष्ट महत्व छ । यो दिन नेपाल संवत्को नयाँ वर्ष (न्हुँद) पनि हो । अहिले नेपाल संवत् ११४६ चलिरहेको छ । म्हपूजाको दिनदेखि नेपाल संवत् ११४७ सुरु हुन्छ । नेवार समाजमा ‘म्हपूजा’ एउटा सुन्दर संस्कृतिको रूपमा रहेको छ । नेपाल भाषामा ‘म्ह’ को अर्थ शरीर र ‘पूजा’ को अर्थ आराधना हो । अर्थात् यो आफ्नै शरीरको पूजा पनि हो । गोबर्धन पूजाको दिन साँझ ‘म्हपूजा’ गरिन्छ । परिवारका सबै सदस्य लहरै बसेर क्रमैसँग पूजा गरिन्छ । परिवारका हरेक सदस्यका लागि छुट्टाछुट्टै मण्डप बनाइएको हुन्छ । चामलको पिठो, तोरीको तेल, रङ मिलाएर बनाइएको सुन्दर मण्डप अघिल्तिर लहरै परिवारका सदस्य बस्छन् । घरकी जेठी महिलाले त्यस मण्डपमा बत्ती बालेर परिवारका सदस्यको पूजा गरी अन्डा, माछा र रक्सीको सगुन दिएर सुस्वास्थ्यको कामना गर्ने चलन छ ।
किजापूजाको दिन पनि दिदीबहिनीले सुन्दर मण्डप बनाउँछन् । त्यही मण्डपको अघिल्तिर दाजुभाइलाई राखी सप्तरङ्गी टीका लगाइदिन्छन् । त्यसपछि मिठाई, फलफूलको उपहार दिन्छन् । दाजुभाइले पनि दिदी बहिनीलाई टीका लगाई उपहार र दक्षिणा दिने चलन छ ।
कमेन्ट गर्नुहोस्