तिहारमा फूलको धेरै प्रयोग गरिन्छ । देवी लक्ष्मीलाई चढाउन वा दिदीबहिनीले दाजुभाइ वा दाजुभाइले दिदीबहिनीको पूजा गर्न फूलकै प्रयोग हुन्छ । लक्ष्मीपूजा वा दीपावलीका दिन घरका झ्यालढोका सजाउन पनि फूलकै प्रयोग गरिन्छ ।
यो पर्वमा विशेष गरी सयपत्री, गोदावरी र मखमली फूलको विशेष महत्व रहन्छ । लक्ष्मीमाताको पूजा गर्न अथवा माला लगाउन सयपत्री, गोदावरीलगायतका फूलको प्रयोग हुन्छ । लक्ष्मीलाई मन पर्ने फूल कमल हो । सम्भव भएसम्म उहाँलाई कमलकै फूल चढाइन्छ । दिदीबिहिनीले दाजुभाइको पूजा गर्न तथा एकअर्कालाई लगाइदिन पनि सयपत्री र गोदावरी फूलकै प्रयोग हुन्छ । अझ दाजुभाइको दीर्घायुको कामना गर्दै दिदीबहिनीले मखमली माला लगाइदिन्छन् । मखमली फूल सुक्दैन । भाइटीकामा दिदीबहिनीले दाजुभाइलाई पूजा गर्दा ‘मखमली फूल नओइलाएसम्म मेरा दाजु वा भाइ निरोगी रहुन्, दीर्घायु रहुन्’ भन्ने कामना गर्छन् ।
गाई, गोरु, काग, कुकर र गोबर्धन पूजामा पनि फूलको प्रयोग हुन्छ । पशुलाई पनि माला लगाएर पूजा र सम्मान गरिन्छ । झ्यालढोकामा विभिन्न रङ्गीचङ्गी फूलको माला लगाउनुको अर्थ देवीदेवतालाई स्वागत गर्नु हो । घरलाई आकर्षक बनाउनु पनि हो । तिहारमा फूलको धेरै प्रयोग हुने भएकाले यसलाई फूलैफूलको पर्व पनि भनिएको हो । नेपाली समाजमा जन्मिएदेखि मृत्युसम्ममा फूलको महत्व रहेको पाइन्छ । फूल देवीदेवताको प्रिय वस्तु हो । देवतालाई मन पर्ने फूल र त्यसका रङ्ग भिन्नभिन्न हुन्छन् । भगवान् गणेश र देवीलाई राता फूल अर्पण गरिन्छ । भगवान् विष्णुलाई पहेँलो, शिवजीलाई सेतो आदि । पितृहरूको पूजा गर्दा पनि सेता वा पहेँला फूल अर्पण गरिन्छ ।
अतिथिलाई स्वागत गर्न पनि फूलकै प्रयोग हुन्छ । परिवारका सदस्यलाई स्वागत गर्दा वा बिदाइ गर्दा पनि फूल नै दिइन्छ । सफलतामा फूलको प्रयोग हुन्छ । बिरामी भएर तङ्ग्रिँदै गरेकालाई फूलको गुच्छा दिएर स्वास्थ्यलाभको कामना गरिन्छ । मृत्यु भएका व्यक्तिलाई पनि फूल अर्पण गरिन्छ ।
कमेन्ट गर्नुहोस्