लहान, कात्तिक ३० गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले मधेशले दिएको माया र मत खेर नजाने बताउनुभएको छ । छठ पर्व मनाउन जनकपुर आउनुभएका सभापति लामिछानेले सिरहाको बरियारपट्टीमा छोटो सम्बोधन गर्दै यस्तो बताउनुभएको हो ।
मधेश जहिले पनि परिवर्तनको पक्षमा रहँदै आएको बताउँदै उहाँले सुशासन र समृद्धिका लागि रास्वपाको पक्षमा गरिएको मत खेर जान नदिन सचेत रहेको बताउनुभयो । “मधेशको समस्या पनि भ्रष्टाचार र कुरीति हो । यसको अन्त्यका लागि सरकारले काम थालिसकेको छ । केन्द्र सरकारका हातखुट्टा भनेका स्थानीय र प्रदेश सरकार हुन् । स्थानीय र प्रदेश सरकार बनाउन पनि साथ चाहिएको छ,” उहाँले भन्नुभयो, “पार्टीमा कुनै मनमुटाव छैन । पार्टी र सरकार सन्तुलित रूपमा अघि बढिरहेका छन् ।”
स्थानीय चुनावमा नेताको वरिपरि रहेर उम्मेदवार बनाइदिने सोच त्यागेर जनताको साथमा काम गर्ने इमानदार र काम गर्न सक्ने क्षमता भएका उम्मेदवार चयनका लागि ‘क्यान्डिडेट क्लब’ खोलिएको उहाँले बताउनुभयो ।
मधेशमा शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र सामाजिक न्यायका लागि सरकारले काम गर्नुपर्ने विषयमा सचेत भएर काम गरिरहेको सभापति लामिछानेले जोड दिनुभयो । उहाँले थप्नुभयो, “गफ गरेर समय बर्बाद गर्नुभन्दा काम गरेर देखाउने समय आएको छ । रास्वपाबाट चुनिने जनप्रतिनिधिहरूलाई मालिक बन्नका लागि होइन, सेवक बनेर काम गर्न पार्टीबाट निर्देशन जारी भइरहेको छ ।”
थोरै समयमा विकास गर्न सम्भव भए पनि मधेश विकासमा पछि पर्नुको कारण भ्रष्टाचार र बेथिति रहेको उहाँले बताउनुभयो । रास्वपालाई विश्वास गरेर पुराना दलको साथ छाडेको उल्लेख गर्दै उहाँले जनताको विश्वासमा घात भए अर्को चुनावमा कुन मुख देखाएर आउने भन्ने विषयमा रास्वपा गम्भीर रहेको तर्क गर्नुभयो ।
जनकपुरको ढल्केवर हुँदै सिरहाको बन्दीपुर, चोहर्वा र सिरहाबाट हुलाकी मार्ग भएर सप्तरीको शक्तिपीठ छिन्नमस्ता दर्शन गरी फेरि लहानको राजदेवी मन्दिर दर्शन गरेर जनकपुर फर्किने कार्यक्रम रहेको रास्वपा सहमहामन्त्री पुरुषोत्तम यादवले जानकारी गराउनुभयो ।
सिरहामा रास्वपा केन्द्रीय सदस्य तथा सिरहा–१ का सांसद बब्लु गुप्ता, मधेश प्रदेशका सभापति तथा सिरहा–४ का सांसद तपेश्वर यादव, जिल्ला सभापति हरि मैनाली र १७ वटै पालिकाका सभापति, नेता तथा कार्यकर्ताले सिरहा प्रवेशका क्रममा बन्दीपुरमा सभापति लामिछानेको स्वागत गरेका थिए । सभापति लामिछानेले सिरहाको सलहेश मन्दिर पुगेर पनि दर्शन गर्नुभएको थियो ।
छठ पर्व मधेश प्रदेशको राजधानी जनकपुरमा मनाएर सिरहा र सप्तरी आउने क्रममा सभापति लामिछानेको मेची–महाकाली यात्रा सुरु भएको प्रदेश अध्यक्ष तथा सांसद तपेश्वर यादवले जानकारी गराउनुभयो ।
कमेन्ट गर्नुहोस्